सुरेश भट्टराईले गरे कांग्रेस ‘महाधिवेशन प्रतिनिधि’मा लड्ने घोषणा
काठमाडौं । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि तनहुँ निर्वाचन क्षेत्र नं। १ बाट शहीदपुत्र सुरेश भट्टराईले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
यस अघि पनि महाधिवेशन प्रतिनिधि रहिसकेका भट्टराईले युवा तथा प्रौढमाझ पहिचान बनाएका छन् । यसैका आधारमा पार्टीमा समयानुकुल परिमार्जन तथा युवा, जेनजी र प्रौढमाझ फेरिएको नीति लिएर अघि बढ्नका लागि उम्मेदवारीको तयारी गरेको उनले बताए ।
माओवादी द्वन्द्वकालमा हत्या भएका बन्दीपुर क्याम्पसका क्याम्पस प्रमुख तथा भानु माध्यमिक विद्यालय, बन्दीपुरका प्रधानाध्यापक रामजी भट्टराईका छोरा भट्टराई लामो समयदेखि विद्यार्थी, तरुण दल तथा पार्टीको मुलधारको राजनीतिमा सक्रिय छन् ।
आफ्नो सम्बन्ध र सम्पर्कमार्फत युवा तथा समस्यामा परेकाहरुको सहयोगका लागि समेत निरन्तर भूमिका खेल्ने उनले बताए ।


