कृष्णभिरमा सडक अवरुद्ध, भरतपुर–काठमाडौं दैनिक ११ उडान
चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरलगायतका स्थानमा सडक भासिएर यातायात प्रभावित भएपछि भरतपुर–काठमाडौं हवाई यात्रामा चाप ह्वात्तै बढेको छ । सडक यात्रा जोखिमपूर्ण र असहज बनेसँगै यात्रुको सहजताका लागि भरतपुर विमानस्थलबाट काठमाडौं हुने उडान सङ्ख्या दोब्बरभन्दा बढी पुर्याइएको छ ।
सामान्य अवस्थामा भरतपुर–काठमाडौं रुटमा दैनिक पाँचवटा उडान गर्दै आएको बुद्ध एयरले यात्रुको बढ्दो चापलाई मध्यनजर गर्दै उडान सङ्ख्या बढाएर दैनिक ९ देखि ११ वटासम्म पुर्याएको जनाएको छ ।
बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सडक अवरुद्ध भएपछि हवाई यात्रुको माग बढेकाले उडान थप गरिएको हो । उनका अनुसार अहिले भरतपुरबाट काठमाडौं जाने यात्रुको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ ।
यस रुटमा एटीआर–७२ जहाज सञ्चालन हुँदै आएको छ । जहाजको कुल क्षमता ७२ यात्रु भए पनि भरतपुर विमानस्थलको धावनमार्ग छोटो भएकाले क्षमताअनुसार यात्रु बोक्न नसकिने जनाइएको छ । काठमाडौंबाट भरतपुर आउँदा करिब ६५ देखि ७० यात्रु बोक्ने जहाजले भरतपुरबाट काठमाडौं जाँदा भने करिब ५० यात्रु बोक्ने गरेको छ ।
सडकभन्दा हवाई यात्रा रोज्दै यात्रु
कृष्णभिरमा सडक अवरुद्ध भएपछि चितवनबाट मकवानपुर हुँदै काठमाडौं जाने वैकल्पिक मार्गसमेत प्रयोग गर्न सकिन्छ । तर वर्षायाममा वैकल्पिक सडकको अवस्था पनि सहज नभएकाले यात्रुहरू समय र सुरक्षालाई प्राथमिकता दिँदै हवाई यात्रातर्फ आकर्षित भएका छन् ।
भरतपुर विमानस्थल चितवनका यात्रुका लागि मात्र नभई आसपासका जिल्लाका नागरिकका लागि समेत महत्वपूर्ण हवाई केन्द्र बनेको छ । नवलपरासी, गोरखा, तनहुँ, लमजुङ र मकवानपुर लगायतका जिल्लाबाट समेत यात्रु भरतपुर विमानस्थल हुँदै काठमाडौं जाने गरेका छन् ।
सडकमार्गमा देखिएको अवरोधका कारण यात्रुको चाप अझै बढ्न सक्ने भएकाले आवश्यकताअनुसार उडान व्यवस्थापन गर्दै यात्रुलाई सहजीकरण गर्ने एयरलाइन्सले जनाएको छ ।
यससँगै कृष्णभिरको सडक अवरोधले सडक यातायात मात्र प्रभावित गरेको छैन, भरतपुर–काठमाडौं हवाई सेवामाथि समेत यात्रुको निर्भरता उल्लेख्य रूपमा बढाएको छ ।


