कांग्रेसमा ‘अन्तिम मिलन प्रयास’ : गगनले खड्का र शेखरलाई भेटे, देउवासँग संवादको तयारी
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ। समानान्तर महाधिवेशनको तयारीदेखि अदालतमा पुगेको विवादसम्मले कांग्रेस विभाजनको जोखिममा पुगेका बेला सभापति गगन थापाले पार्टीभित्रको मतभेद अन्त्य गर्ने ‘अन्तिम प्रयास’ थालेका छन्।
महाधिवेशनअन्तर्गत भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गर्ने तयारी भइरहेका बेला सभापति थापाले संस्थापनइतर पक्षका प्रभावशाली नेता तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
शनिबार बेलुकी सभापति थापा र खड्काबीच भेटवार्ता भएको थियो। भेट सकारात्मक रहेको कांग्रेसका एक पदाधिकारीले बताएका छन्। त्यसपछि आइतबार बिहान ११ बजे थापा नेता शेखर कोइरालालाई भेट्न पुगेका थिए।
विशेष महाधिवेशनमा सहभागी नभएका खड्का र कोइरालासँगको संवादलाई कांग्रेसभित्र टुटेको संवाद जोड्ने निर्णायक प्रयासका रूपमा हेरिएको छ।
देउवा पक्षले छुट्टै महाधिवेशनको तयारी गरेपछि दबाब
विशेष महाधिवेशनमा सहभागी नभएको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले भने समानान्तर गतिविधि अघि बढाउँदै छुट्टै महाधिवेशनको तयारी गरिसकेको छ। पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा महाधिवेशन तयारी समिति गठन गरेर देउवा पक्षले आफ्नै कार्यतालिकासमेत सार्वजनिक गरिसकेको छ।
यसैबीच सभापति थापाले देउवासँग समेत संवाद गर्ने तयारी गरेका छन्। यसअघि थापाले देउवालाई भेट्न प्रयास गरे पनि समय उपलब्ध हुन सकेको थिएन।
अब थापाको रणनीति स्पष्ट देखिन्छ—वडा अधिवेशन सुरु हुनुअघि देउवा, खड्का र शेखरलाई एउटै राजनीतिक समझदारीमा ल्याउने।
सहमति भए अधिवेशनको कार्यतालिका नै फेरिन सक्छ
कांग्रेसभित्रको विवाद समाधान भए तल्लो तहका अधिवेशनको कार्यतालिका समेत परिवर्तन हुन सक्ने संकेत देखिएको छ।
कांग्रेसका एक पदाधिकारीका अनुसार खड्का र शेखरसँग सहमति जुटे भदौ २४ गतेदेखि सुरु हुने भनिएको वडा अधिवेशन असोज २ गतेसम्म सार्न सकिने सम्भावना छ।
तर सहमति नजुटे निर्धारित कार्यतालिकाअनुसार भदौ २४ मै वडा अधिवेशन सुरु हुने तयारी छ।
यसले आगामी केही दिन कांग्रेसका लागि निर्णायक बन्ने देखिएको छ।
अदालतको मुद्दा पनि सहमतिको बाटोमा ‘ठूलो प्रश्न’
कांग्रेसको आन्तरिक विवाद अब पार्टीको बैठक र नेताहरूको वार्तामा मात्रै सीमित छैन। विषय सर्वोच्च अदालतसम्म पुगेको छ।
देउवा र खड्काले विशेष महाधिवेशनसम्बन्धी मुद्दामा पुनरवलोकन माग गरेका थिए। अदालतले त्यसमा निस्सा दिएको छ।
त्यसैले पार्टीभित्र सहमति बनेर महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने अवस्था आए सर्वोच्चमा विचाराधीन मुद्दा फिर्ता लिने वा त्यसबारे नयाँ समझदारी गर्नुपर्ने प्रश्नसमेत उठ्नेछ।
भदौ २४ कि दसैंपछि ? कांग्रेस दुई धारमा
एकातिर संस्थापन पक्ष निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने तयारीमा छ भने अर्कोतिर बाढी, पहिरो तथा विपद्को अवस्थालाई देखाउँदै महाधिवेशन केही समय सार्नुपर्ने आवाज पनि उठिरहेको छ।
‘देश र कांग्रेस जोड्ने अभियान’ चलाइरहेका नेता नैनसिंह महरले मुलुक अहिले विपद्को चपेटामा रहेकाले महाधिवेशन केही समय सारेर दसैंपछि गर्नु उपयुक्त हुने धारणा राखेका छन्।
अब कांग्रेससामु मूल प्रश्न एउटै छ—
भदौ २४ मै अधिवेशन सुरु गरेर विभाजनको बाटोमा जाने कि केही दिन रोकिएर सहमतिको बाटो रोज्नेरु
सभापति थापाले खड्का र शेखरसँग सुरु गरेको संवाद र त्यसपछि देउवासँग हुने भनिएको भेटवार्ताले कांग्रेसको आगामी राजनीतिक दिशा निर्धारण गर्ने देखिएको छ।
अब केही दिनको संवादले कांग्रेसको १५औँ महाधिवेशन मात्रै होइन, पार्टी एक रहने कि समानान्तर शक्तिमा विभाजित हुने भन्ने प्रश्नको समेत जवाफ दिनेछ।


