अस्ति कुशको शव बनाएर दाहसंस्कार, आज आमाको जीवितै उद्धार!
चण्डिकाका श्रीमान् आनन्द भने बाढीपछि अझै बेपत्ता
काठमाडौं । नुवाकोटको बेत्रावतीमा भोटेकोशी बाढीले घरसहित बगाएकी ६४ वर्षीया चण्डिका श्रेष्ठ ११ दिनपछि जीवितै भेटिएकी छन्। उनलाई क्षतिग्रस्त घरभित्रबाट सकुशल उद्धार गरी उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।
चण्डिकाका दुई छोरा आशिष र अनिश काठमाडौंमा थिए। बाढी आएको दिनदेखि उनीहरूले परिवार र स्थानीयसँग मिलेर आमाबुवाको खोजी गरे। तर, आठ दिनसम्म पनि कुनै खबर नआएपछि तीन दिनअघि कुशको शव बनाएर दाहसंस्कार गरी दुवै छोरा काजकिरियामा बसेका थिए।
तर शनिबार बिहान आएको एउटा खबरले परिवारलाई स्तब्ध बनाइदियो—
‘आमा जीवितै भेटिनुभयो!’
बाढीले बगाएको घर पुरिएको अवस्थामा त्यसैभित्रबाट चण्डिकाको जीवितै उद्धार भएको हो। स्थानीयका अनुसार घरभित्रबाट मानिसको आवाज सुनिएपछि प्रहरीलाई खबर गरिएको थियो।
चण्डिका भेटिएपछि छोराहरूको काजकिरिया पुरोहितले विधिपूर्वक फुकुवा गरिदिएका छन्। चण्डिकाको स्वास्थ्यमा सुधार आएपछि र उनका श्रीमान् आनन्द श्रेष्ठ अझै नभेटिएमा पुनः काजकिरिया गर्ने तयारी परिवारले गरेको छ।
चण्डिकाका श्रीमान् आनन्द भने बाढीपछि अझै बेपत्ता छन्।
‘घरभित्रै मानिस जीवितै भेटिन थाले, अब सबै घर खोज्नुपर्छ’
बेत्रावतीमा बाढीले सयौँ घरमा क्षति पुर्याएको छ। चण्डिका ११ दिनपछि आफ्नै बगेको घरभित्र जीवितै भेटिएपछि स्थानीयले बाढीले बगाएका तथा पुरिएका हरेक घरमा पुनः खोजी अभियान चलाउन सरकारसँग माग गरेका छन्।
स्थानीय शशी डंगोलका अनुसार बेत्रावतीमा नेवार समुदायका मात्रै २३० भन्दा बढी घर थिए। बाढीले कतिवटा घर बगायो र कति मानिस अझै सम्पर्कविहीन छन् भन्ने यकिन विवरणसमेत आउन सकेको छैन।
स्थानीयको आग्रह छ—‘११ दिनपछि पनि मानिस जीवितै भेटिन सक्छन् भने, खोजी रोक्ने होइन, प्रत्येक घरमा फेरि खोज्नुपर्छ।’
चण्डिकाको जीवित उद्धारले बाढीमा बेपत्ता भएका अन्य व्यक्तिका परिवारमा पनि आशाको सानो किरण जगाएको छ।


