१५ भदौ २०८३, सोमबार | August 31, 2026

शव व्यवस्थापनमा प्रश्न उठाएका सचिव निरौलालाई रसुवा पठाइयो


August 30, 2026
166
Shares

अब उनैको काँधमा शव व्यवस्थापनको जिम्मेवारी

काठमाडौं । रसुवा बाढीपहिरोमा परी मृत्यु भएकाहरूको शव व्यवस्थापनका विषयमा सामाजिक सञ्जालमार्फत आलोचनात्मक टिप्पणी गरेका कोशी प्रदेश सरकारका सचिव कोषहरी निरौलालाई सरकारले काज सरुवा गरेको छ।

रोचक पक्ष के छ भने, शव व्यवस्थापनमा अपनाइएको प्रक्रियामाथि प्रश्न उठाएका निरौलालाई नै सरकारले शव व्यवस्थापनकै जिम्मेवारीसहित बाढी प्रभावित जिल्ला रसुवा पठाएको हो।

कोशी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव निरौलाले सामाजिक सञ्जालमा ‘फोकटको सुझाव’ भन्दै बाढीपहिरोमा मृत्यु भएकाहरूको शव व्यवस्थापनबारे आफ्नो धारणा सार्वजनिक गरेका थिए। उनले सनाखत हुन नसकेका शवबाट डीएनए नमुना लिएर शव माटोमा पुरिएको विषयमा संवेदनशील प्रश्न उठाएका थिए।

उनको उक्त टिप्पणी सार्वजनिक भएको भोलिपल्टै सरकारले उनलाई रसुवा खटाउने निर्णय गरेको हो।

सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको मन्त्रीस्तरीय निर्णयअनुसार निरौलालाई रसुवाको टिमुरे क्षेत्रलाई केन्द्रित गरी बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनको जिम्मेवारी दिइएको छ। मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि काजमा खटाएको जनाएको छ। उनको तलब तथा भत्ता भने कोशी प्रदेशबाटै भुक्तानी हुने व्यवस्था गरिएको छ।

निरौलालाई जिल्ला प्रशासन कार्यालयलाई सम्पर्क कार्यालयका रूपमा प्रयोग गर्नसमेत निर्देशन दिइएको छ।

सचिव निरौलाले आफ्नो फेसबुक स्टाटसमा कोभिड–१९ महामारीका बेला आफू मोरङको प्रमुख जिल्ला अधिकारी हुँदा शव व्यवस्थापनमा देखिएका चुनौतीको अनुभवसमेत उल्लेख गरेका थिए। विपद्का बेला मृतकको धर्म, संस्कार, परम्परा तथा परिवारको भावनालाई बेवास्ता गर्न नहुने उनको भनाइ थियो।

उनले स्टाटसको सुरुवातमै ‘चितवनमा हतारमा शव गाडिएको समाचार सुनेपछि फोकटको सल्लाह दिन मन लागेको’ भन्दै आफ्ना सुझाव सार्वजनिक गरेका थिए।

निरौलाले बाढीमा आफन्त गुमाएका वा बेपत्ता भएका परिवार आफ्ना प्रियजनको सास वा शव खोज्दै रसुवादेखि गण्डक ब्यारेजसम्म पुग्न सक्ने अवस्थातर्फ समेत सरकारको ध्यानाकर्षण गराएका थिए।

उनको मुख्य जोड शव व्यवस्थापनमा संवेदनशीलता अपनाउनुपर्नेमा थियो। उनले स्पष्ट रूपमा भनेका थिए— ‘आफन्तको भावनामा चोट पुग्ने गरी निर्णय गर्नु हुँदैन।’

अब भने शव व्यवस्थापन प्रक्रियामाथि प्रश्न उठाएका उनै सचिव निरौलाले रसुवामा पुगेर व्यवहारमै त्यसको व्यवस्थापन गर्ने जिम्मेवारी पाएका छन्। यसले उनको आलोचनात्मक टिप्पणीपछि भएको काज सरुवालाई थप चासोको विषय बनाएको छ।

प्रतिक्रिया