४ आश्विन २०८३, आइतबार | September 21, 2026

बाढीपीडितका लागि इ.मोहम्मद नसीम अलीद्धारा सर्भे शुल्कको ५० प्रतिशत सहयोग गर्ने घोषणा


August 28, 2026
2.6k
Shares

काठमाडौं । विपद्को पीडामा परेका नागरिकलाई राहत तथा सहयोग उपलब्ध गराउन विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेका बेला नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन (निशा), कोशी च्याप्टरका सचिव इ. मोहम्मद नसीम अलीले उदाहरणीय सहयोगको घोषणा गरेका छन्।

इ. अलीले हालैको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि आफूले बाढी तथा पहिरोसँग सम्बन्धित दाबीको सर्भे गरेबापत प्राप्त हुने सर्भे शुल्कको ५० प्रतिशत रकम पीडितहरूको सहयोगमा दान गर्ने घोषणा गरेका हुन्।

बाढी तथा पहिरोमा परी ज्यान गुमाउने सम्पूर्ण मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उनले शोकसन्तप्त परिवार तथा विपद्बाट प्रभावित सम्पूर्ण पीडितप्रति गहिरो दुःख र ऐक्यबद्धता प्रकट गरेका छन्।

निशा कोशी च्याप्टरको सचिवको जिम्मेवारीमा रहेका अलीले संस्थागत भूमिकासँगै व्यक्तिगत तर्फबाट पनि विपद्का पीडितलाई सहयोग गर्ने निर्णय गरेको बताएका छन्।

उनका अनुसार यो सहयोग कुनै प्रचार वा ठूलो योगदानको रूपमा नभई विपद्को कठिन घडीमा पीडित परिवारप्रतिको मानवीय संवेदना, सद्भाव र सामाजिक जिम्मेवारीको भावनाबाट गरिएको सानो प्रयास हो।

उनले विपद्को समयमा सबैलाई आफ्नो क्षमता र हैसियतअनुसार सहयोगका लागि समेत आग्रह गरेका छन्।

“यस विपत्तिको कठिन घडीमा हामी सबैले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गरौँ,” अलीले अपिल गरेका छन्।

बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहतका लागि आफ्नो पेशागत आम्दानीको निश्चित हिस्सा छुट्याउने उनको घोषणालाई विपद्मा पेशागत जिम्मेवारीसँगै मानवीय दायित्व निर्वाह गर्ने सकारात्मक उदाहरणका रूपमा हेरिएको छ।

प्रतिक्रिया