४ भदौ २०८३, बिहिबार | August 20, 2026

नेपालगन्ज उद्योग वाणिज्य संघमा युवा पुस्ताको आकर्षण : सबैभन्दा कान्छा उम्मेदवार नगेन्द्र शाही


August 20, 2026
415
Shares

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा युवा पुस्ताको सहभागिता र चासो बढ्दै गएको छ। यही क्रममा इन्जिनियर नगेन्द्र शाही सदस्य पदका लागि उम्मेदवार बनेका छन्। उनी निर्वाचनमा सहभागी उम्मेदवारहरूमध्ये सबैभन्दा कान्छा उम्मेदवारका रूपमा चर्चामा आएका छन्।

आगामी भदौ ६ गते हुने निर्वाचनका लागि चिरञ्जीवी ओलीको नेतृत्वमा घोषणा गरिएको सर्वसम्मत टिममा शाहीलाई सदस्य पदको उम्मेदवार बनाइएको हो। उक्त टिममा उद्योग, वाणिज्य, महिला उपाध्यक्षसहित विभिन्न पदका उम्मेदवारहरू समेटिएका छन्।

युवा उमेरमै व्यवसायिक तथा प्राविधिक क्षेत्रमा आफ्नो पहिचान बनाएका शाहीको उम्मेदवारीलाई नेपालगन्जका उद्योगी–व्यवसायीबीच नयाँ पुस्ताको प्रतिनिधित्वका रूपमा हेरिएको छ। व्यवसायमा प्रविधि, आधुनिक व्यवस्थापन र युवाको सहभागितालाई प्राथमिकता दिनुपर्ने आवाज उठिरहेका बेला शाहीको उम्मेदवारीले थप चर्चा पाएको हो।

शाहीले आफू निर्वाचित भएमा युवा व्यवसायीका समस्या उठाउने, प्रविधिमैत्री व्यवसायिक वातावरण निर्माणमा पहल गर्ने तथा उद्योगी–व्यवसायीको हकहितका विषयमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयाससमेत भइरहेको छ। विभिन्न व्यावसायिक समूहबीच सहमति गरेर टिम घोषणा गरिएको समाचार सार्वजनिक भएको छ।

युवा जोश, प्राविधिक ज्ञान र व्यवसायिक सोचका साथ मैदानमा उत्रिएका इन्जिनियर नगेन्द्र शाहीको उम्मेदवारीले नेपालगन्ज उद्योग वाणिज्य संघमा नयाँ पुस्ताको आवाजलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया