३ भदौ २०८३, बुधबार | August 19, 2026

मन्त्रीलाई रास्वपा सांसदको प्रश्न– ‘देश घुम्ने रहर हो कि समस्या समाधान गर्ने हुटहुटी?’


August 18, 2026
332
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालले मन्त्रीहरूलाई मन्त्रालयको काम छाडेर अनावश्यक रूपमा देश दौडाहामा ननिस्कन आग्रह गरेका छन्।

सोमबार संसद्मा बोल्दै गेलालले मन्त्रीहरूलाई देश घुम्नेभन्दा जनताका समस्या समाधानमा केन्द्रित हुन सुझाव दिएका हुन्। उनले मन्त्रीहरूलाई प्रश्न गर्दै भने, ‘तपाईंहरूलाई देश घुम्ने रहर हो कि समस्या समाधान गर्ने हुटहुटी?’

उनले बिदामा घुम्न गएजस्तो मन्त्रालयबाहिर दौडिनुभन्दा मन्त्रालयमै बसेर नीति निर्माण, निर्णय प्रक्रिया र कर्मचारीको मनोबल बढाउने काममा ध्यान दिनुपर्ने बताए।

गेलालले देशका १६५ वटै निर्वाचन क्षेत्रका समस्या पहिचान र समाधानका उपाय सम्बन्धित क्षेत्रका सांसदहरूले नै प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्ने धारणा राखे। समस्या बुझ्न भन्दै ठूलो संख्यामा सल्लाहकार नियुक्त गरेर राज्यको ढुकुटीमा अतिरिक्त भार थप्नु आवश्यक नरहेको उनको भनाइ थियो।

उनले सरकार र मन्त्रीहरूले जनताका वास्तविक आवश्यकता र प्राथमिकतालाई ध्यान दिनुपर्नेमा जोड दिए। ‘आज जनता ग्यास, मल, सञ्चार सेवा, विद्युत् र आधारभूत स्वास्थ्य सेवाका लागि तड्पिरहेका छन्,’ उनले भने।

गेलालले मन्त्रीहरूको सक्रियता जनताका दैनिकीसँग जोडिएका समस्या समाधानमा देखिनुपर्ने भन्दै अनावश्यक भ्रमण र प्रचारभन्दा परिणाममुखी काममा ध्यान दिन आग्रह गरे।

प्रतिक्रिया