रोल्पामा ५ दिन पहिरोः मृत्यु हुनेको संख्या कति पुग्यो ?
रूपन्देही । लुम्बिनी प्रदेशको पहाडी जिल्ला रोल्पामा ५ दिनमा पहिरोले पुरिएर १८ जनाको मृत्यु भएको छ ।
गएराति आएको पहिरोले घर पुरिँदा रोल्पामा थप एक जनाको मृत्यु भएसँगै मृतकको संख्या १८ पुगेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
गएराति लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले च्यापिएर ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट पहिरो खसेर घर पुरिएर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जनाएका छन् ।
बुधबार थबाङ गाउँपालिकामा पहिरोले बस्ती नै बगाउँदा १३ जनाको मृत्यु भएको थियो भने अझै एक जना बेपत्ता छन् । २ जनाको बुटवलमा उपचार चलिरहेको छ ।
त्यस्तै, बिहीबार सुनछहरी गाउँपालिका–२ फलबाङ र गिट्ठेमा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको थियो ।
लगातारको वर्षाले जिल्लाका विभिन्न स्थानमा पहिरोले समस्या पारिरहेको जनाइएको छ ।


