१६ भदौ २०८३, मंगलबार | September 2, 2026

घिमिरेको कटाक्ष– ‘देउवा दाईको ब्यानर नराखी कार्यक्रम नै गर्न नसक्ने अवस्थामा पुगे’


August 12, 2026
166
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीका केही नेताहरूले आफ्नै बलमा कार्यक्रमसमेत गर्न नसक्ने अवस्था आएको भन्दै तीव्र आलोचना गरेका छन्।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री घिमिरेले महाधिवेशन गर्न नसक्ने, पार्टी चलाउन नसक्ने र जिम्मेवारी पूरा गर्न नसक्ने अवस्थामा कांग्रेसका केही नेताहरू पुगेको टिप्पणी गरे।

उनले भने, ‘महाधिवेशन पनि गर्न नसक्ने, पार्टी चलाउन पनि नसक्ने, जिम्मेवारी पूरा गर्न पनि नसक्ने। हुँदाहुँदा अहिले एक्लै भेला पनि गर्न नसक्ने अवस्था उहाँहरूको छ। कहिलेकाहीँ उहाँहरूको अवस्था हेर्दा टीठ पनि लाग्छ।’

घिमिरेले आफ्नो कार्यक्रम आफ्नै शक्तिमा गर्न नेताहरूलाई चुनौतीसमेत दिए। ‘कार्यक्रम गर्छौं भने आफ्नो दममा गरौँ न। शेरबहादुर देउवाको ब्यानर नराखी कार्यक्रम नै नहुनेरु’ भन्दै उनले प्रश्न गरे।

उनले विगतमा उपप्रधानमन्त्री, महामन्त्री र उपसभापतिसहित महत्वपूर्ण जिम्मेवारी सम्हालेका तथा लामो समय पार्टीमा प्रभाव जमाएका नेताहरू अहिले अन्ततः नेता देउवाको सहारामा पुग्नुपर्ने अवस्था आएको दाबी गरे।

‘उपप्रधानमन्त्री भएका, महामन्त्री भएका, उपसभापति भएका, देश चलाएका, ३५ वर्ष रजगज गरेका, सम्पूर्ण पार्टीको ठेक्का लिएका र पार्टीलाई मुठीमा कैद गरेका व्यक्तिहरू आज फेरि अन्तिममा देउवा दाइ कै शरणमा पर्नुपरेको छ,’ घिमिरेले भने।

घिमिरेले उनीहरूको राजनीतिक निर्भरतालाई ‘प्यारासाइट’ को संज्ञा दिँदै देउवा बिना बाँच्नै नसक्ने अवस्थामा पुगेको आरोप लगाए।

यद्यपि, उनले नेता देउवालाई भने यस्तो गतिविधिप्रति सचेत रहन आग्रह गरे। देउवालाई मोहरा बनाएर, उनको काँधमा बन्दुक राखेर र उनको दुरुपयोग गरेर नेपाली कांग्रेसलाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै घिमिरेले सतर्क रहन आग्रह गरेका हुन्।

उनले भने, ‘तपाईंलाई मोहरा बनाएर, तपाईंको काँधमा बन्दुक राखेर, तपाईंलाई दुरुपयोग गरेर नेपाली कांग्रेस पार्टीलाई भताभुङ्ग पार्न र कमजोर पार्न जुन प्रयत्न भइराखेको छ, त्यसबाट सतर्क हुन म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु।’

प्रतिक्रिया