कांग्रेस सकाउने रवि–बालेनको ’तानाबाना’ – रसाइलीको आरोप
काठमाडौं । नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीचको राजनीतिक दूरी पछिल्लो समय थप चर्किँदै गएको छ। रास्वपाको नेतृत्वले पुराना दललाई कमजोर बनाउने रणनीति अघि बढाएको बुझाइ कांग्रेसभित्र बलियो बन्दै जाँदा दुई दलबीचको आरोप–प्रत्यारोपले नयाँ मोड लिएको छ।
कांग्रेसका नेताहरूका अनुसार रास्वपाले आफूलाई वैकल्पिक शक्तिका रूपमा प्रस्तुत गरे पनि व्यवहारमा पुरानै राजनीतिक पात्रहरूलाई प्रयोग गरेर कांग्रेस कमजोर बनाउने रणनीति अपनाएको छ। यस असन्तुष्टिको केन्द्रमा रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाह जोडिएका छन्।
कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले रवि लामिछानेमाथि कांग्रेसलाई कमजोर बनाउने षड्यन्त्रमा लागेको आरोप लगाए। उनका अनुसार रवि र बालेनले नयाँ पुस्ताको नेतृत्वको दाबी गरिरहे पनि पुराना शक्तिसँगको सम्बन्धले त्यसको विपरीत संकेत गर्छ। “हिजोसम्म दुश्मन भनिएका नेताहरूकै खुट्टामा अहिले तेल लगाउने अवस्था आएको छ,“ रसाइलीले भने। यो टिप्पणी रसाइलीको मात्र नभई कांग्रेसभित्र बलियो बन्दै गएको साझा बुझाइ हो।
गगन थापाको उदयले बदलियो कांग्रेसको दिशा
कांग्रेसभित्रको अर्को महत्वपूर्ण चर्चा सभापति गगन थापाको नेतृत्वलाई लिएर भइरहेको छ। नयाँ पुस्ताका नेताका रूपमा थापाको उदयसँगै पार्टीले परम्परागत शैलीबाट बाहिर निस्कने प्रयास गरेको दाबी नेताहरूको छ। विशेषगरी मधेसमादेखिएको आन्दोलन, हिंसा र साम्प्रदायिक तनावमा कांग्रेसले अपनाएको सावधानीपूर्ण भूमिकालाई नेताहरूले थापाको राजनीतिक परिपक्वतासँग जोडेका छन्। असहमति भए पनि हिंसा र साम्प्रदायिक द्वन्द्वलाई प्रोत्साहन नगर्ने स्पष्ट धारणा राख्नु नै नयाँ नेतृत्वको जिम्मेवारीपन हो भन्ने तर्क छ।
आरोप पुष्टि भए रास्वपालाई उल्टै धक्का ?
रसाइलीको आरोपले कांग्रेस–रास्वपा सम्बन्धमा नयाँ बहस जन्माएको छ। यी आरोप तथ्यका आधारमा पुष्टि हुँदै गए रास्वपाको राजनीतिक विश्वसनीयतामाथि प्रश्न उठ्न सक्छ। पुराना दलबाट पूरा नभएका अपेक्षा र सुशासनको आशा नयाँ शक्तिबाट गरेकै कारण जनताको आकर्षण रास्वपातर्फ बढेको कांग्रेसभित्रकै विश्लेषण छ। तर अहिले उही पुराना अनुहार र शक्तिलाई मोर्चामा अघि सार्न खोजेको आरोप कांग्रेस नेताहरूले लगाइरहेका छन्।
“गगनसँग रास्वपा डराएको छ“
गगन थापाको नेतृत्वलाई लिएर रास्वपाभित्र राजनीतिक असहजता बढेको दाबी पनि कांग्रेसभित्रबाट हुन थालेको छ। परिपक्वता देखाउन सक्ने नेताका रूपमा स्थापित हुँदै गएका थापाको उदय रास्वपाका लागि चुनौती बन्न सक्ने बुझाइ छ। यसले नेपाली राजनीतिमा एउटा पेचिलो प्रश्न जन्माएको छ— रास्वपाको लक्ष्य साँच्चिकै नयाँ विकल्प निर्माण गर्नु हो, कि पुराना दलभित्रको शक्ति संघर्षलाई उपयोग गरी आगामी निर्वाचनमा आफ्नो मत आधार विस्तार गर्नु?
बढ्दो आरोप–प्रत्यारोपले आगामी स्थानीय निर्वाचनअघि नै नेपाली राजनीतिमा नयाँ ध्रुवीकरणको संकेत देखाउन थालेको छ। कांग्रेसभित्र नेतृत्व परिवर्तनसँगै नयाँ पुस्ताको दाबी बलियो हुँदै जाँदा रास्वपाले त्यसलाई कसरी सामना गर्छ भन्ने विषय आगामी दिनमा निर्णायक बन्नेछ।
रास्वपाको चुनौतीः पुरानालाई गाली कि नयाँ विकल्प?
रास्वपाले राजनीतिमा प्रवेश गर्दा पुराना दलको असफलता, भ्रष्टाचार र सुशासनको अभावलाई आधार बनाएको थियो। तर अहिले कांग्रेस नेताहरूले रास्वपाकै राजनीतिक व्यवहारमाथि प्रश्न उठाउन थालेका छन्— पुराना कमजोरी देखाएर मत माग्ने शक्ति नै त्यही पुरानो संरचनासँग नजिकिँदै गए जनताले हिसाब माग्ने तर्क छ। कांग्रेसको अझ पेचिलो दाबी के छ भने, रास्वपाको वास्तविक चुनौती कांग्रेस होइन, बरु पार्टीभित्र देखिन थालेको नयाँ पुस्ताको नेतृत्व हो। गगन थापाको नेतृत्वमा कांग्रेस संगठनात्मक रूपमा पुनर्गठित भई नयाँ एजेन्डासहित जनतासामु जाने अवस्था बने रास्वपाको “पुराना विरुद्ध नयाँ“ नाराकै औचित्यमाथि असर पर्न सक्छ।
साथै, सत्तारुढ शक्तिले संवैधानिक निकायको स्वतन्त्रता र संस्थागत सन्तुलन कमजोर पार्न खोजेको आरोप पनि कांग्रेस नेताहरूले लगाइरहेका छन्। अदालत र अख्तियारलगायतका निकायमाथि राजनीतिक प्रभाव बढाउने प्रयास भइरहेको भन्दै कांग्रेसले प्रतिरोधको संकेत दिएको छ, जसले दुई पक्षबीचको सम्बन्धलाई थप तनावपूर्ण बनाउने देखिन्छ।


