डाक्टर शशांक कोइराला : राजनीतिक संस्कार, मानवीयता र राष्ट्रिय विश्वासको खोजी
युवराज बस्ताकोटी । कुनै पनि राष्ट्रको राजनीति केवल सरकार बनाउने वा बदल्ने प्रक्रियाको नाम होइन। राजनीति भनेको नागरिकको विश्वास, संस्थाको मर्यादा र भविष्यप्रतिको आशाको आधार हो। जब राजनीतिले मानवीयता गुमाउँछ, तब लोकतन्त्र कमजोर हुन्छ। जब राजनीतिमा संवादको ठाउँ कटुताले लिन्छ, तब समाज विभाजित हुन्छ। र जब चरित्रभन्दा शक्ति ठूलो बन्न थाल्छ, तब जनताको विश्वास बिस्तारै हराउँदै जान्छ। आज नेपाल यस्तै चुनौतीहरूको सामना गरिरहेको छ।
यही सन्दर्भमा केही व्यक्तित्वहरू जनताले फरक दृष्टिले हेर्ने गरेका छन्। उनीहरूलाई केवल दलका नेता होइन, राजनीतिक संस्कारका प्रतिनिधि र संवादका माध्यमका रूपमा पनि लिइन्छ। डाक्टर ससांक कोइराला त्यस्ता व्यक्तित्वमध्ये एक हुनुहुन्छ। उहाँको परिचय राजनीतिज्ञको मात्र होइन, सफल आँखा विशेषज्ञ चिकित्सकको पनि हो। चिकित्सा पेसाले मानिसको पीडा बुझ्न सिकाउँछ, धैर्य सिकाउँछ र जीवनप्रति संवेदनशील बनाउँछ। धेरै शुभेच्छुकको बुझाइमा त्यही संवेदनशीलता उहाँको राजनीतिक व्यवहारमा पनि देखिन्छ। उहाँसँग भेट्ने धेरै मानिसले उहाँलाई सहज, शालीन, विनम्र र सबैको कुरा ध्यानपूर्वक सुन्ने स्वभावको व्यक्तिका रूपमा सम्झन्छन्।
आजका धेरै नेताहरू जनताबाट टाढिँदै गएको आरोप खेपिरहेका बेला डाक्टर ससांक कोइरालालाई भने धेरै नागरिकले सहज पहुँच भएका नेताका रूपमा चित्रण गर्छन्। उहाँको कार्यकक्षमा कुनै विशेष हैसियतको आवश्यकता नपर्ने, सामान्य नागरिकलाई पनि सम्मानपूर्वक भेट्ने र कुरा सुन्ने संस्कारले उहाँप्रति आत्मीयता बढाएको छ। लोकतन्त्रमा जनतासँगको दूरी होइन, निकटता नै नेतृत्वको वास्तविक शक्ति हो।
उहाँको जीवनशैलीबारे पनि धेरैले चर्चा गर्ने गर्छन्। राजनीतिलाई प्रदर्शनको माध्यम नबनाई सरलता अपनाउने, सामान्य कुर्सीमा बसेर पनि नागरिकसँग समान व्यवहार गर्ने उहाँको शैलीले एउटा सन्देश दिन्छ। नेताको उचाइ उसको कुर्सीले होइन, उसको चरित्रले निर्धारण गर्छ। सादगी कहिलेकाहीँ सबैभन्दा ठूलो शक्ति हुन्छ।
धेरै मानिसले उहाँमा बीपी कोइरालाले स्थापित गर्न खोजेको लोकतान्त्रिक संस्कारको झल्को देख्ने गर्छन्। विचारमा असहमति हुन सक्छ, तर संवाद नटुटोस्स प्रतिस्पर्धा होस्, तर शत्रुता नहोस्स सत्ता परिवर्तन भइरहोस्, तर लोकतान्त्रिक मूल्य कमजोर नहोस्। यस्ता मान्यताहरू नै लोकतन्त्रका आधार हुन्। डाक्टर ससांक कोइरालाको सार्वजनिक छविप्रति सकारात्मक धारणा राख्नेहरूले उहाँमा यस्तै संस्कारको अपेक्षा गर्छन्।
नेपालको राजनीति आज एउटा गम्भीर मोडमा उभिएको छ। जनताको निराशा बढेको छ। युवाहरू अवसर खोज्दै विदेश गइरहेका छन्। भ्रष्टाचारका आरोपले सार्वजनिक संस्थामाथिको भरोसा कमजोर भएको छ। राजनीतिक दलहरूभित्र गुटीय प्रतिस्पर्धाले विचारलाई पछाडि धकेलेको छ। यस्तो अवस्थामा समाजले कठोर भाषणभन्दा शालीन नेतृत्व खोजिरहेको छ। धेरै शुभेच्छुकको विश्वास छ कि डाक्टर ससांक कोइराला जस्ता व्यक्तित्वले विभाजनभन्दा एकता, कटुताभन्दा सहकार्य र व्यक्तिगत महत्वाकांक्षाभन्दा संस्थागत लोकतन्त्रलाई प्राथमिकता दिन सक्ने क्षमता राख्नुहुन्छ। यही कारण उहाँलाई धेरैले नेपाली कांग्रेसभित्र मात्र होइन, व्यापक लोकतान्त्रिक वृत्तमा पनि सम्मानका साथ हेर्ने गरेका छन्।
तर सम्मानसँगै जिम्मेवारी पनि आउँछ। असल छवि आफैंमा ठूलो उपलब्धि हो, तर इतिहासले केवल असल छविलाई होइन, असल निर्णयलाई पनि सम्झन्छ। त्यसैले आजको आवश्यकता मौन बस्ने होइन, आवश्यक बेला स्पष्ट बोल्ने नेतृत्व हो। यदि लोकतन्त्र कमजोर हुँदैछ भने त्यसको पक्षमा बोल्नुपर्छ। यदि संस्थाहरू कमजोर बनाइँदै छन् भने तिनको संरक्षणका लागि उभिनुपर्छ। यदि योग्य कार्यकर्ता निराश छन् भने उनीहरूलाई आशा दिनुपर्छ। यदि पार्टी विभाजित छ भने सबैलाई जोड्ने पहल गर्नुपर्छ।
आज नेपाली कांग्रेसलाई आरोप–प्रत्यारोप गर्ने नेता होइन, विश्वास दिलाउने अभिभावक चाहिएको छ। गुटको नेता होइन, संगठनको नेता चाहिएको छ। चुनाव जिताउने रणनीतिकार मात्र होइन, पार्टीलाई नैतिक उचाइमा पुर्याउने मार्गदर्शक चाहिएको छ। धेरै कार्यकर्ताले डाक्टर ससांक कोइरालाप्रति यस्तै अपेक्षा राख्ने गरेका छन्।
यससँगै अर्को पक्ष पनि उत्तिकै महत्वपूर्ण छ। सम्मानित सार्वजनिक व्यक्तित्वको नाममा व्यक्तिगत प्रभाव जमाउने, स्वार्थ पूरा गर्ने वा गलत सन्देश फैलाउने मानिसहरू सधैं हुन्छन्। त्यसैले डाक्टर ससांक कोइरालाको नाम प्रयोग गरेर गरिने कुनै पनि गतिविधिलाई नागरिकले विवेकपूर्वक हेर्नुपर्छ। उहाँको नाम कुनै व्यक्तिको निजी लाभको साधन बन्नु हुँदैन। उहाँप्रतिको सम्मान जोगाउनु उहाँका समर्थक र शुभेच्छुक सबैको साझा दायित्व हो।
नेपालको लोकतन्त्रलाई आज नयाँ भाषाको आवश्यकता छ । संवादको भाषा, सहकार्यको भाषा, नैतिकताको भाषा र राष्ट्रहितको भाषा। यही भाषाले मात्र जनताको विश्वास पुनःस्थापित गर्न सक्छ। राजनीतिमा सभ्यता, सहिष्णुता, करुणा र पवित्र उद्देश्य पुनःस्थापित गर्ने अभियानमा डाक्टर ससांक कोइराला जस्ता व्यक्तित्वले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने अपेक्षा धेरै नागरिकको छ।
अन्ततः, एउटा असल नेता केवल चुनाव जितेर ठूलो हुँदैनस उसले समाजमा विश्वास जगाएर ठूलो हुन्छ। उसले पदले होइन, आफ्नो चरित्रले सम्मान कमाउँछ। उसले समर्थक मात्र होइन, आलोचकको पनि सम्मान जित्न सक्छ। यदि कुनै नेताले नागरिकलाई समान दृष्टिले हेर्छ, संवादलाई प्राथमिकता दिन्छ, सरल जीवनशैली अपनाउँछ र राष्ट्रहितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्छ भने त्यस्तो नेतृत्व लोकतन्त्रका लागि सम्पत्ति बन्छ।
डाक्टर शशांक कोइरालाप्रति धेरै नागरिकले राख्ने सम्मानको आधार पनि यही हो। उहाँप्रति रहेको अपेक्षा कुनै व्यक्तिपूजाको परिणाम होइनस राजनीति फेरि एकपटक मानवीय, नैतिक र विश्वासिलो बनोस् भन्ने चाहनाको अभिव्यक्ति हो। यदि उहाँले आफ्नो अनुभव, सरलता, शालीनता र लोकतान्त्रिक संस्कारलाई अझ सक्रिय राष्ट्रिय नेतृत्वमा रूपान्तरण गर्न सक्नुभयो भने त्यो केवल एउटा दलका लागि होइन, समग्र नेपालको लोकतान्त्रिक भविष्यका लागि पनि सकारात्मक योगदान हुन सक्छ। इतिहासले अन्ततः पदभन्दा चरित्र, शक्ति भन्दा सेवा र लोकप्रियताभन्दा विश्वासलाई नै दीर्घकालसम्म सम्झिरहन्छ।
जति असल मानिस भए पनि सर्वपक्षीय ध्यान पुर्याउन सकेनन् भने धोका हुने सम्भावना रहन्छ नै। शक्ति शार्दुल मानिसको पोल्टामा पुग्दा तिनका नाममा शक्तिको दुरुपयोग नहोला भन्न पनि सकिदैन । अतस् वास्तविकता लोकतान्त्रिक चरित्र र जिम्मेवारी नागरिकको नेतृत्व बनेर पार्टी र देशको मार्गदर्शन गर्न सक्ने ल्याकत राख्नुपर्छ भन्ने कम्तीमा धेरै नेता, कार्यकर्ता र जनताको अपेक्षा अवस्य पनि रहेको छ । यसमा उहाँको ध्यान जरुर पुग्नुपर्छ ।


