२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

२५० रुपैयाँको किनमेल, १० लाखको बम्पर उपहार !


0
Shares

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक गरेको छ। शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा १० लाख रुपैयाँको बम्पर उपहार विजेता घोषणा गरिएको हो।

विभागका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका स्थित शिव कृष्ण जनरल स्टोरबाट मात्र २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्। विजेता कुपन नम्बर ००७ ३१५ २५४ ४९३ रहेको छ। ती उपभोक्ताले साउन ७ गते उक्त स्टोरबाट सामान खरिद गरेका थिए।

आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मराज भूसालका अनुसार विजेताले प्राप्त गर्ने रकममा प्रचलित कानुनअनुसार कर कट्टा गरी बाँकी रकम प्रदान गरिनेछ।

यस्तै, योजनाअन्तर्गत अन्य १५ जना उपभोक्ताले जनही १ लाख रुपैयाँ नगद उपहार जितेका छन्। करदाताको गोपनीयता कायम राख्न उनीहरूको परिचय सार्वजनिक नगरिएको विभागले जनाएको छ।

अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत करदाता प्रोत्साहन कार्यक्रम घोषणा गरेका थिए। सोही कार्यक्रमअन्तर्गत उपभोक्तालाई कर तिर्न र बिल लिन प्रोत्साहित गर्ने उद्देश्यले उपहार योजना सञ्चालन गरिएको हो।

कार्यविधिअनुसार हरेक महिनाको १६ गते अघिल्लो महिनाको अन्तिम १५ दिन र चालु महिनाको पहिलो १५ दिनको कारोबारका आधारमा उपहार विजेता छनोट गरिनेछ।

कसरी सहभागी हुने ?

बैंक वा डिजिटल वालेटको त्तच् मार्फत वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता स्वतः योजनामा सहभागी हुनेछन्। तर, उपहार दाबी गर्न खरिदको बिल सुरक्षित राख्न अनिवार्य हुनेछ।
नगदमा खरिद गर्ने उपभोक्ताले भने प्यान वा भ्याट बिल लिएर आन्तरिक राजस्व विभागको वेबसाइटमा अपलोड गरेपछि कुपन प्राप्त गरी योजनामा सहभागी हुन सक्नेछन्।

विभागले सबै उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा बिल लिन र सुरक्षित राख्न आग्रह गरेको छ। सानो रकमको खरिदले पनि ठूलो उपहार दिलाउन सक्ने भएकाले यो योजना करदाताका लागि थप आकर्षक बनेको विभागको विश्वास छ।

प्रतिक्रिया