२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

नेपाल एसबिआई मर्चेन्ट बैंकद्धारा प्रिन्टर हस्तान्तरण


0
Shares

काठमाडौं, टोखा । नेपाल एसबिआई मर्चेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत टोखा नगरपालिका–९ स्थित चेतना महिला माध्यमिक विद्यालयलाई एक थान प्रिन्टर हस्तान्तरण गरेको छ। विद्यालयमा अध्ययनरत आमा तथा दिदीबहिनीहरूको पठनपाठन र प्रशासनिक कार्यलाई थप सहज बनाउने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो।

विशेष गरी महिला शिक्षा, स्वास्थ्य र आत्मनिर्भरता प्रवर्द्धनका लागि ‘आईसीटी पत्रकार विकास मञ्च’ अन्तर्गत ‘प्रोजेक्ट जिरो इन्भेस्टमेन्ट’ (Project Zero Investment) को अवधारणामा आधारित भई आमा–दिदीबहिनीहरूको सिक्ने इच्छालाई अगाडि बढाउन संस्थाका अध्यक्ष पुष्करराज पाण्डेले गर्नुभएको विशेष पहलकदमीको एउटा महत्त्वपूर्ण अंशका रूपमा यो सहयोग हस्तान्तरण गरिएको हो।

प्रिन्टर नेपाल एसबिआई मर्चेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (CEO) सन्तोष कुमार भण्डारीले विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा बैंकका विजय महर्जनको समेत विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार भण्डारीले सामाजिक उत्तरदायित्वअन्तर्गत चेतना महिला विद्यालयलाई सहयोग गर्न पाउँदा अत्यन्तै खुसी व्यक्त गर्नुभयो। उहाँले बैंकले देशका विभिन्न क्षेत्रमा निरन्तर सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै महिला शिक्षाको क्षेत्रमा योगदान गर्न पाउनु आफ्ना लागि अझ विशेष रहेको बताउनुभयो। विद्यालयमा अध्ययनरत आमा तथा दिदीबहिनीहरूको सिक्ने चाहना, संघर्ष र आत्मविश्वासले आफू मात्र नभई आफ्नी सानी छोरीलाई समेत शिक्षाप्रति प्रेरित गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

त्यस्तै, बैंकका प्रतिनिधि विजय महर्जनले शिक्षा क्षेत्रमा प्रत्यक्ष योगदान गर्न पाउनु गौरवको विषय भएको उल्लेख गर्दै आगामी दिनमा पनि बैंकको सामाजिक कार्यमा सक्रिय सहभागिता रहने विश्वास दिलाउनुभयो।

टोखा नगरपालिका–९ का वडा अध्यक्ष रामभक्त घिमिरेले चेतना महिला विद्यालयले वर्षौंदेखि आमा तथा दिदीबहिनीहरूलाई शिक्षाको उज्यालो बाँड्दै आएको बताउँदै बैंकप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। शिक्षामा लगानी गर्नु भविष्यमा लगानी गर्नु सरह भएको उल्लेख गर्दै उहाँले अध्ययनरत दिदीबहिनीहरूलाई निरन्तर अध्ययन गरी समाजका लागि प्रेरणादायी बन्न आग्रह गर्नुभयो।

कार्यक्रमका समन्वयकर्ता, लाइभ नेपाल नेटवर्क प्रा.लि. तथा आईसीटी पत्रकार विकास मञ्चका अध्यक्ष एवं समाजसेवी पुष्करराज पाण्डेले सामाजिक उत्तरदायित्व बैंकिङ क्षेत्र मात्र नभई सम्पूर्ण निकायको दायित्व हुनुपर्नेमा जोड दिनुभयो। चेतना महिला विद्यालयबाट अध्ययन गरेका धेरै महिला आज डाक्टर, नर्स, शिक्षक तथा उच्च पदमा पुगिसकेको प्रसङ्ग उल्लेख गर्दै उहाँले यस्ता संस्था समाजका लागि प्रेरणाको केन्द्र भएको बताउनुभयो।

राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य गोविन्द प्रसाद भुसाल, समाजसेवी एवं व्यवसायी मीनबहादुर गुरुङलगायतका वक्ताहरूले महिला शिक्षामा गरिएको यस्ता लगानीले समग्र समाजको विकासमा सकारात्मक प्रभाव पार्ने बताउँदै बैंकको पहलको प्रशंसा गर्नुभयो।

विद्यालयका प्रधानाध्यापक शान्ता प्रधान र सहायक प्रधानाध्यापक उर्मिला अमात्यले बैंक, सम्पूर्ण अतिथि तथा समन्वयकर्ताप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। विद्यालयमा वार्षिक परीक्षा सञ्चालन भइरहेको समयमा प्रिन्टरको अत्यन्तै आवश्यकता परेका बेला प्राप्त यो सहयोगले परीक्षा व्यवस्थापन र दैनिक प्रशासनिक कार्यहरूमा ठूलो राहत र खुसी मिलेको बताउनुभयो।

महिलाहरूको शिक्षा, स्वास्थ्य र आत्मनिर्भरताका लागि निरन्तर विभिन्न कार्यक्रम आयोजना गरी पहलकदमी गर्दे आउनुभएकी पत्रकार तथा समाजसेवी सावित्री बस्याल (साबु) ले कार्यक्रमको सफल सञ्चालन गर्नुभएको थियो।

विद्यार्थी, अभिभावक, बैंकका प्रतिनिधि तथा स्थानीय सरोकारवाला निकायका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रममा उपस्थित सबै वक्ताहरूले महिला शिक्षाको विकासका लागि सरकारी, निजी, बैंकिङ र सामाजिक क्षेत्र मिलेर हातेमालो गर्नुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया