१ भदौ २०८३, सोमबार | August 18, 2026

दुर्गा प्रसाईलाई हिरासतमै राख्नुपर्ने आधार नदेखिएको यस कारण ठहर गरियो !


415
Shares

काठमाडौं, १९ साउन । भक्तपुर जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको माग अस्वीकार गर्दै थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ।

सोमबार न्यायाधीश नवराज दाहालको इजलासले सरकारी वकिल कार्यालयले मागेको म्याद थप अस्वीकार गर्दै प्रसाईलाई हिरासतमा नराखी अनुसन्धान प्रक्रिया अगाडि बढाउन सकिने फैसला सुनाएको हो।

अदालतले आफ्नो आदेशमा प्रसाईलाई हिरासतमा नराख्दा उनले प्रमाण नष्ट गर्ने वा फरार हुने सम्भावना रहेको भन्ने कुनै ठोस आधार वादी पक्षले पेश गर्न नसकेको उल्लेख गरेको छ। कानुनअनुसार हिरासतमा राखेर अनुसन्धान गर्न अभियुक्तबाट प्रमाण नष्ट हुन सक्ने वा भाग्न सक्ने स्पष्ट जोखिम देखिनुपर्ने भए पनि यस मुद्दामा त्यस्तो अवस्था पुष्टि नभएको अदालतको निष्कर्ष छ।

आदेशमा प्रहरीले पेश गरेको करिब साढे ७ मिनेटको भिडियो सामग्री र प्रहरी प्रतिवेदनकै आधारमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसूर देखिएको भए सोही प्रमाणका आधारमा अभियोग दायर गर्न सकिने उल्लेख गरिएको छ। त्यसका लागि प्रसाईलाई हिरासतमा राखिरहन आवश्यक नदेखिएको अदालतको भनाइ छ।

प्रसाईमाथि गुम्बाभित्र हतियार रहेको दाबी गर्ने तथा जातीय सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपसमेत लागेको छ। अदालतले ती अभिव्यक्तिसम्बन्धी प्रमाण संकलन गरी अनुसन्धान अगाडि बढाउन सकिने भएकाले उनलाई थुनामै राख्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेको छ।

सरकारले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसूर गरेको आरोपमा प्रसाईलाई आइतबार राति पक्राउ गरी म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो। तर अदालतले हिरासतमा राख्नुपर्ने कानुनी आधार नपुगेको ठहर गर्दै उनलाई थुनामुक्त गरेको हो। अदालतको आदेशपछि प्रसाई सोमबार नै रिहा भएका छन्।

प्रतिक्रिया