कर्णाली प्रदेश निर्माण व्यवसायी संघको अध्यक्षमा मानव बम सर्वसम्मत चयन, उपाध्यक्षमा शाही
सुर्खेत,१९ साउन। कर्णाली प्रदेश निर्माण व्यवसायी संघको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। संघको अध्यक्षमा पूर्व कर्णाली प्रदेश महासचिव तथा रास्कोट नगरपालिका निवासी, बसना निर्माण सेवाका निर्देशक मानव बम सर्वसम्मत रूपमा चयन भएका छन्।
त्यसैगरी, संघको उपाध्यक्षमा तुलराज शाही (राज) सर्वसम्मत रूपमा चयन भएका छन्।
लामो समयदेखि निर्माण व्यवसायमा सक्रिय रहँदै आएका अध्यक्ष मानव बमले संघको विभिन्न जिम्मेवारीमा रहेर हासिल गरेको अनुभवलाई अब सम्पूर्ण निर्माण व्यवसायीहरूको साझा हितमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले निर्माण व्यवसायीहरूले भोगिरहेका समस्या समाधान, व्यवसायमैत्री वातावरण निर्माण, संस्थागत सुदृढीकरण तथा व्यवसायीहरूको हक–अधिकार संरक्षणलाई आफ्नो नेतृत्वको प्रमुख प्राथमिकता बनाउने बताएका छन्।
उनका अनुसार निर्माण व्यवसाय केवल ठेक्का–ठेकेदारीमा सीमित नभई प्रदेशको पूर्वाधार विकास, आर्थिक समृद्धि तथा रोजगारी सिर्जनासँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण क्षेत्र हो। त्यसैले संघलाई अझ प्रभावकारी, उत्तरदायी, पारदर्शी र सबल संस्थाका रूपमा विकास गर्दै सम्पूर्ण निर्माण व्यवसायीहरूको साझा आवाजलाई मजबुत बनाइने उनले उल्लेख गरेका छन्।
नवनिर्वाचित उपाध्यक्ष तुलराज शाही ९राज० ले पनि अध्यक्ष मानव बमसँग सहकार्य गर्दै कर्णाली प्रदेशभरिका निर्माण व्यवसायीहरूको एकता, संस्थागत विकास तथा व्यवसायिक अधिकारको संरक्षणका लागि सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन्।
कर्णाली प्रदेशका सबै जिल्लाका निर्माण व्यवसायीहरूलाई एकताबद्ध गर्दै संघलाई अझ सशक्त बनाउने, नीतिगत तथा प्रशासनिक समस्या समाधानका लागि सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्ने र नयाँ पुस्ताका निर्माण व्यवसायीहरूलाई संस्थामा जोड्दै अघि बढ्ने लक्ष्यसहित नयाँ नेतृत्व अगाडि बढ्ने विश्वास व्यक्त गरिएको छ।
कर्णाली प्रदेश सम्पादक सुरेश शाहीका अनुसार संघको नेतृत्व सर्वसम्मत रूपमा चयन भएको हो। अध्यक्षमा मानव बम र उपाध्यक्षमा तुलराज शाही (राज) चयन भएसँगै निर्माण व्यवसायीहरूले नयाँ नेतृत्वबाट व्यवसायीहरूको हित, संस्थागत सुदृढीकरण र कर्णाली प्रदेशको पूर्वाधार विकासमा प्रभावकारी भूमिका निर्वाह हुने अपेक्षा गरेका छन्।


