१६ श्रावण २०८३, शनिबार | August 1, 2026

एनभिए कोशी प्रदेशको अध्यक्षमा सचिन बराल


1.2k
Shares

काठमाडौं, १६ साउन । नेपाल भ्यालुयर्स एसोसिएसन (एनभिए) कोशी प्रदेशको तेस्रो साधारण सभाले इ. सचिन बरालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा इ. कुमार तिम्सिना र इ. भविन कुमार खड्का महाराजी,  सचिवमा इ. सुमन तिम्सिना, सह–सचिवमा इ. विशाल कुमार झा तथा कोषाध्यक्षमा इ. माधव सुवेदी निर्वाचित भएका छन्।

यस्तै सदस्यहरूमा इ. प्रेमसागर बजगाई, इ. बद्री निरौला, इ. उपेन्द्र गुप्ता, इ. सुरज पोदार, इ. प्रदीप थापा, इ. किसन कुमार अधिकारी र इ.विक्रम खड्का चयन भएका छन्।

कोशी प्रदेशका अध्यक्ष इ. आमोदराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल भ्यालुयर्स एसोसिएसनका केन्द्रीय अध्यक्ष इ. सञ्जय कुमार महतो प्रमुख अतिथि रहेका थिए। विशेष अतिथिका रूपमा निवर्तमान केन्द्रीय अध्यक्ष तथा नेपाल बीमा सर्भेयर संघका अध्यक्ष इ. ऋषि कोइराला, महासचिव इ. अशोक सिलवाल र सचिव इ. रविन्द्र अधिकारीको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष इ. सञ्जय कुमार महतोले नवनिर्वाचित टोलीलाई शुभकामना दिँदै, ‘जसरी नेपालको पूर्वबाट घाम उदाउँछ, त्यसरी नै कोशी प्रदेशबाट सुरु भएको यो नयाँ नेतृत्वले भ्यालुयर्स पेशालाई नयाँ ऊर्जा र दिशा दिनेछ,’ भन्ने विश्वास व्यक्त गरे।

निवर्तमान अध्यक्ष इ.ऋषि कोइरालाले कोशी प्रदेशका निवर्तमान अध्यक्ष इ. आमोदराज आचार्यले संस्थाको स्थापना कालदेखि पुर्‍याएको योगदानको प्रशंसा गर्दै, उनको सक्रियताले एनभिएलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए। उनले नयाँ नेतृत्वसँगै कोशी प्रदेश अझ सशक्त र प्रभावकारी बन्ने विश्वास व्यक्त गरे।

महासचिव इ. अशोक सिलवालले प्रदेश तथा च्याप्टर समितिहरू स्रोत–साधनका हिसाबले क्रमशः सुदृढ बन्दै गएको उल्लेख गर्दै, अब संस्थालाई अझ बलियो, संगठित र प्रभावशाली बनाउने दिशामा सबै लाग्नुपर्नेमा जोड दिए।

सचिव इ. रविन्द्र अधिकारीले नयाँ कार्यसमितिलाई बधाई दिँदै सबै तहका समितिहरूबीच सहकार्य र एकताका साथ अघि बढ्ने प्रतिबद्धता जनाए। उनले जानाजानी गल्ती गर्ने इन्जिनियरलाई एसोसिएसनले संरक्षण नगर्ने स्पष्ट पार्दै, वास्तवमै अन्यायमा परेका तथा बैंक–वित्तीय संस्थाबाट अन्यायपूर्ण दबाबमा परेका भ्यालुयर्सको पक्षमा एनभिए सधैं दृढतापूर्वक उभिने घोषणा गरे।

नयाँ नेतृत्व चयनसँगै कोशी प्रदेशमा एनभिएले व्यावसायिक अधिकार, संस्थागत सुदृढीकरण र भ्यालुयर्सको हित संरक्षणलाई थप प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया