१० श्रावण २०८३, आइतबार | July 26, 2026

परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र ‘भाइरल’, छानबिन समिति गठन


0
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को व्यवस्थापन सङ्कायअन्तर्गत मास्टर्स अफ बिजनेस स्टडिज (एमबिएस) को प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा सार्वजनिक भएको घटनामा संलग्न रहेको आरोपमा केही व्यक्ति पक्राउ परेका छन्।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल को निर्देशनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ले उनीहरूलाई शुक्रबार बिहान नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको हो।

गत साउन ८ गते आयोजित स्नातकोत्तर तहको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमा फैलिएको थियो। घटनाले विश्वविद्यालयको परीक्षा प्रणाली र गोपनीयतामाथि गम्भीर प्रश्न उठाएको छ।

प्रश्नपत्र सार्वजनिक भएको विषयलाई गम्भीर रूपमा लिँदै त्रिविको व्यवस्थापन सङ्काय डिन कार्यालयले यसअघि नै साइबर ब्यूरोलाई अनुसन्धान तथा आवश्यक कारबाहीका लागि पत्राचार गरेको थियो।

यसैबीच, परीक्षा नियन्त्रण महाशाखाले घटनाको सत्यतथ्य पत्ता लगाउन प्रा। डा। अच्युत ज्ञवाली को संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

समितिमा अनुगमन निर्देशनालयका उपनिर्देशक सहप्राध्यापक पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालक समितिका सदस्य सहप्राध्यापक महेशराज ओझा सदस्य रहेका छन्।

समितिलाई सात कार्यदिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। अब प्रश्नपत्र कसरी बाहिरियो, कसको संलग्नता थियो र दोषीमाथि कस्तो कारबाही हुन्छ भन्ने विषयमा सबैको चासो केन्द्रित भएको छ।

प्रतिक्रिया