नेपाल बैंकलाई एनभिएको कडा चेतावनी : सम्झौता उल्लंघन फिर्ता नगरे सशक्त आन्दोलन हुन्छ
काठमाडौं । नेपाल बैंक लिमिटेडले मूल्यांकनकर्ता (भ्यालुयर) सूचीकृत गर्ने सम्बन्धमा प्रकाशित गरेको सूचनाप्रति नेपाल भ्यालुयर्स एसोसिएसन (एनभिए) ले गम्भीर आपत्ति जनाएको छ। एसोसिएसनले उक्त सूचना नेपाल बैंकर्स एशोसिएशन (एनबिए) र एनभिएबीच वि.सं. २०७४ मा भएको सम्झौताको मर्म, भावना तथा सहमतिविपरीत रहेको ठहर गर्दै तत्काल सच्याउन माग गरेको छ।
एनभिएका अध्यक्ष इन्जिनियर सञ्जय कुमार महतोद्वारा जारी विज्ञप्तिमा नेपाल बैंकले प्रकाशित गरेको सूचनाले पूर्वसम्झौतामाथि प्रत्यक्ष रूपमा प्रहार गरेको उल्लेख गरिएको छ। एसोसिएसनले एनबिए र एनभिएबीच भएको सहमतिअनुसारका प्रावधान हुबहु कार्यान्वयन गर्न नेपाल बैंकसँग जोडदार माग गरेको छ।
एनभिएले सम्झौताविपरीतका व्यवस्था तत्काल फिर्ता नलिए आफ्ना सदस्यहरूको हक, हित तथा पेशागत अधिकारको संरक्षणका लागि नेपाल बैंक लिमिटेडविरुद्ध सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएको छ।

विज्ञप्तिमा आन्दोलनबाट उत्पन्न हुने सम्पूर्ण क्षति, असर तथा परिणामको जिम्मेवारी नेपाल बैंक लिमिटेड स्वयंले वहन गर्नुपर्ने स्पष्ट उल्लेख गरिएको छ।
एनभिएको यो चेतावनीपछि मूल्यांकनकर्ता सूचीकृत गर्ने प्रक्रियालाई लिएर बैंकिङ क्षेत्र र मूल्यांकनकर्ता समुदायबीच नयाँ विवाद चर्किने संकेत देखिएको छ।
यसैबीच, एनभिएका अध्यक्ष महतोले सामाजिक सञ्जालमार्फत बैंकहरूको कार्यशैलीप्रति व्यंग्य गर्दै ‘तिमीले जे गर्दा पनि हुन्छ, किनकि तिमी बैंक हौ’ शीर्षकको कविता सार्वजनिक गरेका छन्।

नेपाल बैंक लिमिटेडले मूल्यांकनकर्ता सूचीकृत गर्ने सम्बन्धमा प्रकाशित सूचनाप्रति असन्तुष्टि जनाइरहेका बेला अध्यक्ष महतोले उक्त कवितामार्फत बैंकहरूले आफ्नो शक्तिको दुरुपयोग गर्दै पेशागत मर्यादा, सम्झौता र न्यायपूर्ण अभ्यासलाई बेवास्ता गरेको संकेत गरेका छन्। उनको यो अभिव्यक्तिलाई मूल्यांकनकर्ता समुदायको आक्रोश र असन्तुष्टिको प्रतीकका रूपमा हेरिएको छ।
महतोको यो व्यंग्यात्मक अभिव्यक्ति सामाजिक सञ्जालमा समेत चर्चा बटुलिरहेको छ।


