१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

बालेन–रवि भेटको भित्री कथाः यी तीन मन्त्री हटाऊ—प्रधानमन्त्रीको कडा माग


0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बूढानीलकण्ठमा भएको करिब ४ घण्टा लामो गोप्य भेटवार्ताको भित्री विवरण सार्वजनिक भएको छ। उच्च स्रोतका अनुसार सरकार सञ्चालन, मन्त्रीहरूको कार्यसम्पादन र प्रधानमन्त्रीका सल्लाहकारसम्मका विषयमा दुई नेताबीच निकै तीतो–मीठो संवाद भएको थियो।

स्रोतका अनुसार प्रधानमन्त्री शाहले अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम र महान्यायाधिवक्ता डा। नारायणदत्त कंडेललाई तत्काल हटाउन सभापति लामिछानेसँग आग्रह गरेका थिए।

प्रधानमन्त्रीले विशेषगरी सरकारी निर्णयहरू लगातार सर्वोच्च अदालतबाट उल्टिँदै गएको विषय उठाउँदै कानून मन्त्री र महान्यायाधिवक्ताको भूमिकाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको स्रोतको दाबी छ।

‘सरकारका निर्णय अदालतले एकपछि अर्को गर्दै रोकिरहेको छ। कानून मन्त्रालय र महान्यायाधिवक्ताको प्रस्तुति प्रभावकारी भएन,’ प्रधानमन्त्रीले रविलाई भनेको स्रोतको दाबी छ।

स्वर्णिममाथि पनि बालेनको असन्तुष्टि

भेटवार्तामा प्रधानमन्त्रीले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेको कार्यशैलीमाथि पनि कडा प्रश्न उठाएको बताइएको छ ।

स्रोतका अनुसार उनले शेयर बजारको लगातार गिरावट, विद्युतीय गाडीको भन्सार विवाद, कर नीति, तथा अर्थ मन्त्रालयका केही नियुक्तिलाई लिएर असन्तुष्टि जनाउँदै अर्थमन्त्रीलाई हटाउनुपर्ने धारणा राखेका थिए ।

प्रधानमन्त्रीले उद्योगी–व्यवसायीसँगका पछिल्ला महत्वपूर्ण छलफलमा समेत अर्थमन्त्रीलाई सहभागी नगराएको स्रोतको दाबी छ ।

रविको पनि पल्टवार: ‘तपाईंका सल्लाहकार हटाउनुस्’

प्रधानमन्त्रीको माग सुनेपछि सभापति रवि लामिछानेले पनि प्रधानमन्त्रीकै सल्लाहकार टोलीमाथि प्रश्न उठाएका थिए ।

स्रोतका अनुसार रविले प्रमुख स्वकीय सचिव कुमार बेन र राजनीतिक सल्लाहकार असिम शाहलाई हटाएर जिम्मेवार र परिपक्व व्यक्तिलाई जिम्मेवारी दिन सुझाव दिएका थिए।

विशेषगरी संविधान संशोधन कार्यदल, राहदानी छपाइ प्रकरण, तथा जर्मन राजदूतसँग जोडिएको विवादजस्ता विषयमा प्रधानमन्त्रीका सल्लाहकारहरूको भूमिकाप्रति रविले असन्तुष्टि जनाएको स्रोतको दाबी छ।

प्रधानमन्त्रीले कुमार बेनको बचाउ गरे पनि असिम शाहबारे कुनै प्रतिक्रिया नदिएको स्रोतले जनाएको छ।

सरकारभित्रै बढ्दो असन्तुष्टि ?

स्रोतका अनुसार प्रधानमन्त्रीले रास्वपाकै केही सांसदले सरकारको बचाउ गर्नुको सट्टा सार्वजनिक रूपमा आलोचना गरिरहेको विषय पनि उठाएका थिए।

यद्यपि, भेटको भोलिपल्ट संसद् परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति रवि लामिछानेले प्रधानमन्त्रीसँग ‘सौहार्दपूर्ण वातावरणमा विभिन्न विषयमा छलफल भएको’ बताएका थिए।

तर रास्वपा स्रोतको दाबी भने फरक छ।

‘बाहिर मुस्कान देखिए पनि बैठकमा निकै तीतो संवाद भएको थियो। दुवै नेताबीच एकअर्काप्रति आशंका अझै बाँकी छ,’ स्रोतले जनाएको छ।

१०० दिन नपुग्दै सरकारभित्र खटपट ?

रवि लामिछानेकै प्रस्तावमा २०८२ चैत १३ गते प्रधानमन्त्री बनेका बालेन्द्र शाहको नेतृत्वको सरकारले हालै १०० दिन पूरा गरेको छ। तर सरकारको कार्यशैली, मन्त्रीहरूको प्रदर्शन र सल्लाहकारहरूको भूमिकालाई लिएर सत्तारूढ दलभित्रै मतभेद सतहमा आउन थालेको संकेत यस घटनाले दिएको राजनीतिक वृत्तमा चर्चा छ।

प्रतिक्रिया