२२ असार २०८३, सोमबार | July 6, 2026

युवतीमाथि अश्लील हर्कत गर्ने व्यक्त्ति शिक्षा अधिकृत, इमाडोलबाटै पक्राउ


166
Shares

काठमाडौं, २२ असार । ललितपुरको इमाडोलमा सडकमा हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग खोलेर देखाउने पुरुष पक्राउ परेका छन् ।

सामाजिक सञ्जालमा भिडिओ भाइरल भएपछि सक्रिय भएको प्रहरीले ती पुरुषलाई सोमबार इमाडोलबाटै नियन्त्रणमा लिएको हो ।

बाजुरा स्थायी घर भएका सुरेन्द्र भट्ट पक्राउ परेका छन् । प्रहरी अनुसन्धानका क्रममा भट्ट सरकारी कर्मचारी रहेको खुलेको छ ।

उनी शिक्षा क्षेत्रमा कार्यरत अधिकृत स्तरका कर्मचारी (शिक्षा अधिकृत) रहेको पाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले बताए । तर, उनी कार्यरत कार्यालय भने यकिन हुन बाँकी रहेको ललितपुर प्रहरीले जनाएको छ ।

आइतबार साँझको उक्त घटनाबारे प्रहरीले सोमबार जानकारी प्राप्त गरेको थियो । जानकारी प्राप्त हुने बित्तिकै खोजी अगाडि बढाएकोमा उनलाई सोमबार इमाडोलबाटै नियन्त्रणमा लिइएको हो ।

युवतीले आफ्नो टिकटक भिडिओको क्याप्सनमा लेखेकी छिन्, ‘आज म एक्लै बाटो हिँडिरहेकी थिएँ । मैले छोटो लुगा लगाएकी पनि थिइनँ, सामान्य फुल प्यान्ट र टिसर्ट लगाएकी थिएँ । तर पनि करिब ४० वर्ष जतिको एक जना मानिसले बीच बाटोमै मलाई देखेर आफ्नो लुगा खोलेर अश्लील व्यवहार गर्‍यो । साँच्चै भन्नुपर्दा, यो कुनै मजाक गर्ने कुरा होइन, न त सानो घटना नै हो । यस्तो व्यवहारले जोसुकैलाई डर, असुरक्षा र मानसिक तनाव दिन सक्छ ।’

‘त्यो बेला मैले चुप लागेर बसिनँ । आफूलाई जोगाउन मैले प्रतिक्रिया दिएँ । आज पनि धेरैले महिलाको लुगालाई दोष दिन खोज्छन्, तर आजको घटनाले फेरि देखायो कि समस्या लुगामा होइन, यस्तो गलत सोच भएका मानिसहरूमा छ । म यो कुरा ध्यान खिच्नका लागि होइन, यस्ता घटना सामान्य होइनन् भन्ने कुरा सबैले बुझुन् भनेर लेखिरहेकी हुँ । सार्वजनिक ठाउँमा हिँड्दा हरेक व्यक्तिले सुरक्षित महसुस गर्न पाउनुपर्छ । यस्ता घटनाविरुद्ध सबैले आवाज उठाउन जरुरी छ,’ उनले थप अगाडि लेखेकी छिन् ।

प्रतिक्रिया