बँदेलका लागि श्रीमानले राखेको पासोमा श्रीमती परेको पत्तो नपाएपछि…
गुल्मी, १७ असार । गुल्मीमा जंगली बँदेल नियन्त्रणका लागि श्रीमानले नै थापेको विद्युतीय धरापमा परेर श्रीमतीको मृत्यु भएको छ ।
बाली जोगाउन श्रीमानले राखेको करेन्टमा परेर धुर्कोट गाउँपालिका–५ मन्टारीका ६६ वर्षीय भेषराज भण्डारीकी श्रीमती ६० वर्षीया हुमकला भण्डारीको यस्तो घटनामा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा परेकी हुमकला चिच्चाएको थाहा पाएपछि छिमेकीले प्रहरीलाई १ सय नम्बरमा खबर गरेको धेरै समयपछि मात्रै श्रीमानले यस्तो घटनाको जानकारी पाएका थिए ।
छिमेकीसमेत रहेका धुर्कोट गाउँपालिका वडा नं ५ का अध्यक्ष केशवराज भण्डारीले श्रीमानले राखेको धरापबारे श्रीमतीलाई जानकारी नहुँदा त्यही धरापमा परेको र उनी चिच्याएपछि छिमेकीले प्रहरीको १ सय नम्बरमा खबर गरेको धेरै समयपछि मात्रै श्रीमानले जानकारी पाएका थिए ।
भण्डारी दम्पत्तीका ३ छोराछोरी भएपनि सबै बाहिर भएकाले घरमा बुढाबुढी मात्रै रहेका थिए । दुई छोरा र १ छोरी भएका उनीहरुको दुई छोरा र एक बुहारी रोजगारीको लागि दुबई बस्छन् भने छोरीको बिवाह भइसकेको थियो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार ६६ वर्षीय भेषराज भण्डारीले घरदेखि करिब १ सय ५० मिटर टाढा रहेको बारीमा मंगलबार साँझ बिजुलीको पोलबाट करेन्ट प्रवाह गरी बँदेल नियन्त्रणका लागि विद्युतीय धराप थापेका थिए । मध्यराति करिब १ः३० बजे हुमकला धरापमा परेकी थिइन् ।
प्रारम्भिक अनुसन्धानबाट उनी बँदेल पर्यो कि भनेर हेर्न एक्लै बारीमा गएको र सोही क्रममा गल्तीवश विद्युतीय धराप छोएपछि करेन्ट लागेको खुलेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएकी हुमकलालाई उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको थियो । तर, चिकित्सकले बिहान ३ः२५ बजे मृत घोषणा गरेको डीएसपी विश्वकर्माले जानकारी दिए ।
घटनाको अवस्थाबारे प्रहरीले अनुसनधान गरेपछि र छोराहरु आएपछि मात्रै शव के गर्ने भन्ने टुंगो लाग्ने उनले जनाए ।

