१५ असार २०८३, सोमबार | June 29, 2026

सरकारको उपस्थिति भाषणमा होइन, नागरिकको दैनिक जीवनमा अनुभूति हुनुपर्छ: व्यवसायी गुरुङ


1.1k
Shares

काठमाडौं । युवा व्यवसायी संजिव गुरुङले सरकारको वास्तविक उद्देश्य जनतालाई सेवा, सुरक्षा र समृद्धि प्रदान गर्नु रहेको बताएका छन्। राज्यले निर्माण गरेका नीति, कानुन र सार्वजनिक सेवाहरू कागजमा मात्र सीमित नरही देशको अन्तिम नागरिकसम्म प्रभावकारी रूपमा पुग्नुपर्ने उनको भनाइ छ।

उनका अनुसार नागरिकले आफ्नो दैनिक जीवनमा ‘देशमा सरकार छ’ भन्ने अनुभूति गर्न सक्ने वातावरण राज्यले निर्माण गर्नुपर्छ। सरकारी सेवा पारदर्शी, सहज र नागरिकमैत्री हुन नसक्दा अझै पनि धेरै नागरिकले अनावश्यक झन्झट, दुःख र जरिवानाको सामना गर्नुपरेको उनले उल्लेख गरेका छन्।

गुरुङले सरकारी निकायले कानुन, नियम र प्रक्रियाबारे समयमै स्पष्ट सूचना प्रवाह गर्नुपर्नेमा जोड दिँदै त्यसप्रति नागरिक पनि उत्तिकै सचेत र जिम्मेवार हुनुपर्ने बताएका छन्।

उनले कतिपय सरकारी कार्यालयमा नेतृत्व परिवर्तनसँगै एउटै कानुनको फरक–फरक व्याख्या हुने, व्यक्तिगत सोचका आधारमा सेवा प्रवाह हुने तथा नागरिकलाई अनावश्यक दुःख दिने प्रवृत्ति बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। यस्तो कार्य कानुनको शासन र सुशासनको मूल मर्मविपरीत रहेको उनको भनाइ छ।

यस्ता विकृतिमाथि सरकारले प्रभावकारी निगरानी, छानबिन र आवश्यक सुधार गर्नुपर्ने उनको सुझाव छ। सुशासनको अर्थ नागरिकलाई नियन्त्रण गर्नु नभई गुणस्तरीय सेवा, छिटो न्याय र राज्यप्रति विश्वास दिलाउनु भएको उनले उल्लेख गरेका छन्।

गुरुङका अनुसार कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्छ, तर यसको कार्यान्वयन निष्पक्ष, मानवीय र उत्तरदायी हुन आवश्यक छ। बहुमतको सरकार रहेको वर्तमान अवस्थामा जनताले सरकारको उपस्थिति भाषण र घोषणामा होइन, आफ्नै दैनिक जीवनमा अनुभूति गर्न सक्नुपर्ने उनले बताएका छन्।

नागरिकले सम्मानजनक सेवा, पारदर्शी प्रशासन, छिटो न्याय र उत्तरदायी शासन पाउने अवस्था सिर्जना भए मात्र लोकतन्त्रको वास्तविक अर्थ स्थापित हुने उल्लेख गर्दै उनले ‘बलियो राज्य भनेको नागरिकलाई डर देखाउने होइन, भरोसा दिलाउने राज्य हो’ भन्ने धारणा व्यक्त गरेका छन्।

प्रतिक्रिया