कांग्रेस फुटिसक्यो की बाँकी छ ?
विराटनगर । नेपाली कांग्रेसभित्रको आन्तरिक संकट, अविश्वास र गुटबन्दी अब यति गहिरिएको छ कि एउटै मञ्चमा उभिएका कोइराला दाजुभाइले नै पार्टीको अवस्थाबारे दुई फरक चित्र प्रस्तुत गरेका छन्।
एकातिर पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले कांग्रेस व्यवहारिक रूपमा फुटिसकेको ठोकुवा गरे भने अर्कोतिर डा. शेखर कोइरालाले पार्टीलाई कुनै पनि हालतमा फुट्न नदिने कसम खाए।
विराटनगरमा आयोजित एकता भेलामा लामो समयपछि दुवै नेता एउटै मञ्चमा देखिए। तर, उनीहरूको भाषणले कांग्रेसभित्रको गहिरो संकट र नेतृत्वबीचको फरक बुझाइलाई छर्लङ्ग पारिदियो।
शशाङ्कको निष्कर्ष : ‘काँग्रेस व्यवहारिक रूपमा फुटिसक्यो’
सम्बोधनका क्रममा पूर्वमहामन्त्री शशाङ्कले पार्टीको वर्तमान अवस्थाप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै भने, “पार्टी अहिले व्यवहारिक रूपमा फुटिसकेको छ। सर्वोच्च अदालत र निर्वाचन आयोगले पार्टी फुटाउने काम गरे।”
उनको अभिव्यक्तिले कांग्रेसको आन्तरिक एकता केवल कागजमा सीमित रहेको र पार्टीभित्र समानान्तर शक्ति केन्द्रहरू निर्माण भइसकेको सन्देश दिएको छ।
शेखरको प्रतिवाद : ‘म जीवित रहुञ्जेल कांग्रेस फुट्दैन’
यता, कोइराला निवासमा कार्यकर्तासँग भेटघाटपछि कार्यक्रमस्थल पुगेका डा। शेखर कोइरालाले भने फरक स्वर सुनाए।
उनले पार्टीभित्र मतभेद, विवाद र असन्तुष्टि चुलिएको स्वीकार गरे पनि कांग्रेसलाई विभाजनतर्फ धकेल्ने कुनै प्रयास सफल हुन नदिने दाबी गरे।
“पार्टीभित्र विवाद छन्, मतभेद छन्, तर म कुनै पनि हालतमा कांग्रेस फुट्न र फुटाउन दिन्नँ।”
एउटै मञ्च, दुई सन्देश
विराटनगरको मञ्चमा देखिएको यो दृश्यले कांग्रेसभित्रको वास्तविकता झनै उजागर गरेको छ। भाइले पार्टी फुटिसकेको घोषणा गरिरहेका छन् भने दाइ अझै पार्टी जोगाउन सकिने विश्वासमा छन्।
राजनीतिक वृत्तमा अहिले एउटा प्रश्न उठ्न थालेको छ—
यदि पार्टी फुटेको छैन भने शशाङ्क किन ‘फुटिसक्यो’ भन्दैछन् ? यदि साँच्चै फुटिसकेको हो भने शेखरले जोगाउन खोजिरहेको कांग्रेस आखिर कुन हो ?
कोइराला दाजुभाइको यो फरक अभिव्यक्ति केवल व्यक्तिगत धारणा मात्र होइन, नेपाली कांग्रेसभित्र चुलिँदै गएको नेतृत्व संकट, गुटीय अविश्वास र आन्तरिक विभाजनको सार्वजनिक स्वीकारोक्तिका रूपमा समेत हेरिएको छ।
कांग्रेसको संकट अब विपक्षीले उठाएको आरोप मात्र रहेन, पार्टीका आफ्नै शीर्ष नेताहरूले फरक–फरक भाषामा त्यसको पुष्टि गर्न थालेका छन्।

