बन्दीपुरका विद्यालयमा शैक्षिक सामग्री वितरण, विपन्न विद्यार्थीलाई सहयोग
बन्दीपुर, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–२ अन्तर्गतका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री, पोशाक तथा खेलकुद सामग्री वितरण गरिएको छ।
शान्ति आधारभूत विद्यालय, पार्चेमा २०८३ जेठ २२ गते विद्यालयका पूर्व विद्यार्थी तथा हाल काठमाडौं निवासी समाजसेवी प्रेमकुमार श्रेष्ठ र उनकी पत्नी अन्जु श्रेष्ठको पहलमा रोटरी क्लब अफ यल तथा आयन्स, लक्ष्मी देवभण्डारी (भूमि) र सहकार्य सहकारी काठमाडौंको संयुक्त सहयोगमा ३५ जना विद्यार्थीलाई कापी, कलम र विद्यालय पोशाक वितरण गरिएको हो।
सो अवसरमा विद्यालयको शैक्षिक तथा शारीरिक विकासलाई टेवा पुर्याउने उद्देश्यले विभिन्न शैक्षिक सामग्री, खेलकुद सामग्री तथा प्राथमिक उपचारका लागि आवश्यक औषधिसमेत विद्यालयलाई हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा बन्दीपुर गाउँपालिका–२ का वडाध्यक्ष तिलक (सुशील) कुँवर, विद्यालयका प्रधानाध्यापक दीपक केसी, शिक्षक–शिक्षिका, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यस्तै, रोटरी क्लब अफ यल तथा आयन्सकै सहयोगमा सोही वडास्थित देउराली आधारभूत विद्यालय, बट्टारका २२ जना विद्यार्थीलाई कापी र कलम वितरण गरिएको छ।
त्यसैगरी, भानु माध्यमिक विद्यालय, बन्दीपुरमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडाध्यक्ष तिलक कुँवर, प्रधानाध्यापक विज्ञान भट्टराई, शिक्षक–शिक्षिकाहरूको उपस्थितिमा पूर्व विद्यार्थी श्रेष्ठले कक्षा १ देखि १० सम्म अध्ययनरत विपन्न परिवारका २२ जना विद्यार्थीलाई कापी, कलमलगायत विभिन्न स्टेशनरी सामग्री उपलब्ध गराएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले विद्यालयहरूको शैक्षिक विकासमा आफ्नो सहयोग आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे। उनले विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न र शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउन आग्रह गर्दै विद्यार्थीहरूलाई उच्च मनोबलका साथ अध्ययनमा केन्द्रित हुन प्रेरित गरेका थिए।
स्थानीय समुदायले यस्ता सहयोगात्मक कार्यक्रमले ग्रामीण क्षेत्रका विद्यार्थीहरूको अध्ययनमा उत्साह थप्नुका साथै विद्यालयको शैक्षिक वातावरण सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको बताएका छन्।


