१० असार २०८३, बुधबार | June 24, 2026

२० खर्बको बजेट ल्याउने सरकार एक दिन पनि टिक्नु हुँदैन : अर्थविद् न्यौपाने


830
Shares

काठमाडौं । अर्थविद् डा। गोपिलाल न्यौपानेले सरकारले आम्दानीको स्रोत सुनिश्चित नगरी खर्च बढाउने नीति अवलम्बन गरेको भन्दै कडा आलोचना गरेका छन्। उनले आगामी आर्थिक वर्षका लागि प्रस्तावित बजेट, तलब वृद्धि र ऋण नीतिलाई सरकारको असफल आर्थिक सोचको परिणाम भएको बताएका छन्।

डा। गोपिलालका अनुसार सरकारले उत्पादन, रोजगारी र आम्दानी वृद्धि गर्ने ठोस योजना नल्याई कर्मचारी, सुरक्षा निकाय तथा अन्य क्षेत्रमा खर्च बढाउने नीति लिएको छ। उनका अनुसार यस्तो नीति दीर्घकालीन रूपमा अर्थतन्त्रका लागि घातक बन्न सक्छ।

उनले वर्तमान अर्थमन्त्री स्वर्णिम वाग्ले माथि पनि टिप्पणी गर्दै अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको सोचअनुसार अर्थतन्त्र सञ्चालन गर्न खोजिएको आरोप लगाए। उनका अनुसार केवल मुद्रास्फीति बढाएर वा खर्च विस्तार गरेर जीडीपी बढेको देखाउनु वास्तविक आर्थिक विकास होइन।

डा। गोपिलालले देशको ऋणभार बढाउने गरी बजेट निर्माण भइरहेको दाबी गर्दै सरकारले आम्दानीभन्दा धेरै खर्च गर्ने प्रवृत्ति अपनाएको बताए। ‘११ खर्ब रुपैयाँ हाराहारी राजस्व उठाउने क्षमता भएको सरकारले २० खर्ब रुपैयाँ खर्च गर्ने योजना बनाउँछ भने त्यो आर्थिक अनुशासनको गम्भीर उल्लंघन हो,’ उनले भने।

उनले कर्मचारी, सेना र प्रहरीको तलब तथा सुविधा वृद्धि गर्नु गलत नभए पनि त्यसका लागि आवश्यक स्रोत सुनिश्चित हुनुपर्ने बताए। उत्पादन वृद्धि, उद्योग विस्तार, लगानी आकर्षण र रोजगारी सिर्जना नगरी केवल खर्च बढाउँदा अर्थतन्त्र थप दबाबमा पर्ने उनको भनाइ छ।

सरकारले जनताको विश्वास गुमाउँदै गएको र प्रशासन तथा सुरक्षा संयन्त्रमाथि बढी निर्भर हुन खोजेको आरोप लगाउँदै उनले जनसमर्थन कमजोर भएको सरकारले राज्य संयन्त्रको सहारामा टिक्न खोज्ने प्रवृत्ति खतरनाक हुने चेतावनी दिए।

डा। गोपिलालले सरकारको आर्थिक नीति र बजेटको दिशामाथि प्रश्न उठाउँदै आम्दानीभन्दा अत्यधिक ठूलो आकारको बजेट ल्याउने प्रयास भए त्यसलाई स्वीकार गर्न नहुने धारणा व्यक्त गरे। ‘यदि ११ खर्ब आम्दानी गर्ने सरकारले २० खर्ब खर्च गर्ने बजेट ल्याउँछ भने त्यस्तो सरकार एक दिन पनि टिक्न नहुने अवस्था सिर्जना हुन्छ,’ उनले भने।

प्रतिक्रिया