पृथ्वी राजमार्गमा ३ सवारी ठोक्किँए, घाइतेको कहाँ कहाँ हुँदैछ उपचार ?
धादिङ, २९ वैशाख । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनी मा गएराति तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना यात्रु घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार राति करिब ११ः३० बजे काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बा ०३–००१ ख २०५६ नम्बरको ट्रक सडकमा रोकिएको अवस्थामा थियो। सोही क्रममा काठमाडौँबाट बागलुङतर्फ जाँदै गरेको बा ०१–००६ ख ७४९९ नम्बरको बसले ट्रकलाई पछाडिबाट ठक्कर दिएको थियो। त्यसलगत्तै काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०१–००६ ख ६७१६ नम्बरको अर्को बसले पनि अगाडिको बसलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय धादिङ, इलाका प्रहरी कार्यालय गजुरी, प्रहरी चौकी बैरेनी तथा स्थानीयवासीको सहयोगमा घाइतेहरूको तत्काल उद्धार गरिएको थियो। घाइतेहरूलाई स्थानीय बैरेनी अस्पताल र स्मारिका मेडिकल हलमा प्रारम्भिक उपचार गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइतेमध्ये ३ जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् भने बाँकी ३४ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ। जसमध्ये २८ जनाको राष्ट्रिय ट्रमा सेन्टर र टिचिङ अस्पताल महाराजगन्ज मा उपचार भइरहेको छ भने ६ जनालाई अन्य अस्पतालमा रिफर गरिएको छ। दुर्घटनामा संलग्न तीनवटै सवारी साधनमा गरी ६८ जना यात्रु सवार रहेका थिए।
दुर्घटनामा संलग्न तीनवटै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पर्वत कुश्माका ३२ वर्षीय शिव थापा, ललितपुरका ४५ वर्षीय पुरुषोत्तम तिमिल्सिना शर्मा तथा रौतहटका २८ वर्षीय ट्रक चालक प्रमोद चौधरी रहेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

