२३ बैशाख २०८३, बुधबार | May 6, 2026

‘८–९ वर्षपछि मात्र व्हाइट हाउस छाड्छु’ — ट्रम्पको अभिव्यक्तिले फेरि तेस्रो कार्यकालको बहस तात्यो


664
Shares

Donald Trump ले फेरि एकपटक अमेरिकी राजनीतिमा हलचल ल्याउने अभिव्यक्ति दिएका छन्। ह्वाइट हाउसमा आयोजित कार्यक्रममा ट्रम्पले आफू “८–९ वर्षपछि मात्र पदबाट बाहिरिने” बताएपछि अमेरिकी राजनीति तरंगित बनेको छ।

त्यहाँ उपस्थित मानिसहरू उनको भनाइ सुनेर हाँस्न थाले पनि ट्रम्पले तुरुन्तै स्पष्ट पारे— “म मजाक गरिरहेको छैन, मलाई काम गर्न मनपर्छ।” उनले अहिले आफ्नो कार्यकालको सुरुवात मात्र भएको र अझ धेरै काम बाँकी रहेको दाबी गरे।

ट्रम्पको यो भनाइले फेरि तेस्रो कार्यकालको बहसलाई आगो झैं सल्काएको छ। अमेरिकी संविधानको २२औँ संशोधन अनुसार कुनै पनि व्यक्ति दुई पटकभन्दा बढी राष्ट्रपति बन्न पाउँदैन। तर ट्रम्पले पटक–पटक तेस्रो कार्यकालको संकेत दिँदै आएका छन्।

यसअघि अमेरिकी सांसद Andy Ogles ले ट्रम्पका लागि संविधान संशोधन गरेर तेस्रो कार्यकालको बाटो खोल्ने प्रस्तावसमेत दर्ता गरेका थिए। प्रस्तावमा लगातार दुई कार्यकाल पूरा नगरेको व्यक्तिले पुनः चुनाव लड्न सक्ने व्यवस्था गर्न खोजिएको थियो। तर त्यो प्रस्ताव सदनमै रोकियो।

अब प्रश्न उठेको छ— ट्रम्पको “८–९ वर्ष” टिप्पणी केवल राजनीतिक मजाक हो कि अमेरिकी संविधानको सीमालाई चुनौती दिने संकेत?

आगामी महिना ८० वर्ष पुग्न लागेका ट्रम्पले उमेरमाथि पनि ठट्टा गर्दै आफूलाई “वृद्ध होइन, अझै जवान” दाबी गरेका छन्। तर उनको पछिल्लो अभिव्यक्तिले अमेरिका मात्र होइन, विश्व राजनीतिमै नयाँ बहस सुरु गराएको छ।

प्रतिक्रिया