‘मालती मंगले’ रिलिजअघि विवादमा रामकृष्ण ढकाल, सामाजिक सञ्जालमा बहिष्कार अभियान तीव्र
काठमाडौं । चर्चित गायक रामकृष्ण ढकाल अभिनीत फिल्म मालती मंगले ले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएसँगै प्रदर्शनको बाटो खुलेको छ । फिल्म आगामी वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ ।
तर फिल्म रिलिजको मिति नजिकिँदै गर्दा ढकाल भने सांगीतिकभन्दा राजनीतिक विवादका कारण सामाजिक सञ्जालमा आलोचनाको केन्द्र बनेका छन् ।
रवि लामिछाने लाई नख्खु कारागारबाट छुटेपछि आफ्नै गाडीको ‘रुफटप’मा राखेर बाहिर ल्याएको पुरानो घटनालाई लिएर सामाजिक सञ्जालमा ढकालमाथि तीव्र टिप्पणी भइरहेको छ । कतिपय प्रयोगकर्ताले उनलाई व्यंग्यात्मक रूपमा ‘खरानी दस्ता’को उपनाम दिँदै फिल्म बहिष्कारको अभियान नै चलाइरहेका छन् ।
सामाजिक सञ्जालमा “कलाकार कि राजनीतिक कार्यकर्तारु” भन्ने प्रश्नसमेत उठ्न थालेको छ । केहीले कलाकारको राजनीतिक झुकावलाई व्यक्तिगत स्वतन्त्रता भनेका छन् भने अर्काथरीले त्यसले दर्शकको भावनामा असर पार्ने तर्क गरेका छन् ।
यता फिल्म युनिट भने विवादका बीच पनि प्रदर्शन तयारीमा व्यस्त छ । अब चासोको विषय बनेको छ— सामाजिक सञ्जालको बहिष्कार अभियानले ‘मालती मंगले’को व्यापारमा असर पार्ला कि दर्शकको साथले विवादलाई नै छायामा पार्ला ?


