२१ बैशाख २०८३, सोमबार | May 4, 2026

विश्व प्रेस स्वतन्त्रता दिवसमा वासिङ्टन डीसीमा विशेष अन्तरक्रिया, नेपाली मिडियाका चुनौतीबारे गहन बहस


166
Shares

वासिङ्टन डीसी — विश्व प्रेस स्वतन्त्रता दिवस २०२६ को अवसरमा संयुक्त राज्य अमेरिकाको नेपाली दूतावास र नेपाल अमेरिका पत्रकार संघ (नेजा) को संयुक्त आयोजनामा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

अमेरिकाको वासिङ्टन डीसीस्थित नेपाली दूतावासको आवासीय भवनमा आयोजित कार्यक्रममा नेपाली पत्रकारिता, प्रेस स्वतन्त्रता, सञ्चार क्षेत्रका चुनौती तथा समाधानका विषयमा गहन छलफल गरिएको थियो। कार्यक्रममा नेजाका पूर्व कार्यवाहक अध्यक्ष कृष्णप्रसाद शर्मा, अमेरिकी शिक्षाविद् डा.च्याट स्टिभिन, नेजाका पदाधिकारी तथा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत सरदराज अरनले प्रेस स्वतन्त्रता केवल अभिव्यक्ति र सूचनाको अधिकारमा सीमित नभई लोकतन्त्र सुदृढ गर्ने, सुशासन प्रवद्र्धन गर्ने र समृद्ध राष्ट्र निर्माणको आधार भएको स्पष्ट पारे। उनले जिम्मेवार पत्रकारिताले सत्य, पारदर्शिता र राष्ट्रिय आत्मविश्वासलाई बलियो बनाउँदै समाजलाई सकारात्मक परिवर्तनतर्फ डो¥याउने उल्लेख गरे।

कार्यक्रममा नेपाली पत्रकारिताको वर्तमान अवस्था, पत्रकारहरूले भोगिरहेका समस्या, व्यावसायिक चुनौती र समाधानका सम्भावित उपायहरूबारे खुला अन्तरक्रिया गरिएको थियो। विशेषगरी नेपालमा बालेन शाह नेतृत्वको सरकारले निजी मिडियामाथि सरकारी विज्ञापन रोक लगाएको विषयमा पनि गम्भीर बहस भएको बताइएको छ।

कार्यक्रमका प्रमुख वक्ताका रूपमा नेजाका पूर्व कार्यवाहक अध्यक्ष कृष्णप्रसाद शर्मा, अमेरिकी शिक्षाविद् डा.च्याटले प्रेस स्वतन्त्रता, लोकतन्त्रमा सञ्चारमाध्यमको भूमिका र बदलिँदो सञ्चार वातावरणका चुनौतीबारे आफ्नो धारणा राखेका थिए।

सहभागी पत्रकारहरूले पनि आफ्ना अनुभव, समस्या र पेशागत असहजताबारे खुला रूपमा आवाज उठाएका थिए। कार्यक्रमले नेपाली पत्रकारिताको सुदृढीकरण, प्रेस स्वतन्त्रताको संरक्षण र अन्तर्राष्ट्रिय स्तरमा नेपाली सञ्चार क्षेत्रको सहकार्य विस्तारमा नयाँ ऊर्जा दिएको सहभागीहरूको भनाइ थियो।

प्रतिक्रिया