२१ बैशाख २०८३, सोमबार | May 4, 2026

बाल्टिमोरमा नेजाको १९औँ साधारण सभा सम्पन्न


166
Shares

बाल्टिमोर, २१ वैशाख । उत्तर अमेरिकामा क्रियाशील नेपाली पत्रकारहरूको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १९औँ साधारण सभा अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरमा सम्पन्न भएको छ। नेपाली सञ्चार क्षेत्र र डायस्पोराका सवालमा केन्द्रित उक्त साधारण सभा शनिबारदेखि सुरु भई औपचारिक रूपमा समापन गरिएको हो।

बाल्टिमोरस्थित होलिडे इन टाउसनको सभाकक्षमा आयोजित उद्घाटन तथा समापन कार्यक्रममा अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत सरदराज अरन प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा सम्मानित अतिथि तथा मेरिल्याण्ड राज्यका सिनेटर कार्ल ज्याक्सन ले आप्रवासी समुदाय र अमेरिकी सार्वजनिक संस्थाबीचको सम्बन्ध सुदृढ बनाउन नेजाले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए। उनले नेपाली पत्रकारहरूको सक्रियताले समुदायका मुद्दालाई मूलधारमा पुर्‍याउन मद्दत गरिरहेको उल्लेख गरे।

विशेष अतिथि तथा मेरिल्याण्ड हाउस अफ डेलिगेट्सका सदस्य ह्यारी भण्डारी ले लोकतन्त्र कुनै एकै रातमा परिपक्व नहुने भन्दै आफ्ना संस्था र प्रणालीप्रति सम्मान गर्ने संस्कारले मात्रै समाज र राज्यलाई बलियो बनाउने धारणा राखे।

त्यस्तै, आप्रवासी मामिला आउटरिच संयोजक रिचर्ड ओर्टेगा ले नेपाल अमेरिका पत्रकार संघ (नेजा) को निरन्तर सफलताको शुभकामना व्यक्त गर्दै संस्थाले आप्रवासी नेपाली समुदायका आवाजलाई अझ प्रभावकारी रूपमा उठाउने विश्वास व्यक्त गरे।

साधारण सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरी पारित गरिएको थियो। साथै आगामी वर्षका लागि नयाँ कार्यक्रम, रणनीति र योजनाहरू पनि स्वीकृत गरिएको संस्थाले जनाएको छ।

संस्थागत सुधार र समयसापेक्ष व्यवस्थापनलाई प्राथमिकतामा राख्दै नेजाको विधान संशोधन प्रक्रिया पनि अघि बढाइएको छ। यसलाई संस्थालाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

कार्यक्रममा मेरिल्याण्ड काउन्सिल सदस्यहरू प्याट यङ, लज्जी पाटुका, डेभिड मार्क्स, मार्क एर्टिल, एनआरएनए अमेरिकाका अध्यक्ष सतेन्द्र शाह, महासचिव मोहन न्यौपाने, उपाध्यक्ष दीपक सापकोटा तथा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिका उपसचिव प्रभु थापा लगायतको उपस्थिति रहेको थियो।

नेजाका अध्यक्ष सुरज भण्डारी को अध्यक्षतामा सम्पन्न साधारण सभाले उत्तर अमेरिकामा नेपाली पत्रकारहरूको पेशागत एकता, क्षमता अभिवृद्धि र समुदायका आवाजलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

साधारण सभापछि उत्तर अमेरिकामा नेपाली पत्रकारिताको नेटवर्क अझ मजबुत र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया