११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

कांग्रेसभित्र नयाँ चलखेल सुरु ?


415
Shares

काठमाडौं । पूर्णबहादुर खड्का ले अचानक समूहको भेला बोलाएपछि नेपाली कांग्रेस भित्रको आन्तरिक राजनीति फेरि तरंगित बनेको छ । १५ वैशाखका लागि धुम्बाराहीस्थित होटल स्मार्टमा डाकिएको यो भेला अब शक्ति सन्तुलनको नयाँ संकेतका रूपमा हेरिएको छ।

खड्कानिकट स्रोतका अनुसार १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापति र क्षेत्रीय सभापतिहरूलाई समेटेर ठूलो जमघट गर्ने तयारी छ। यो भेला केवल नियमित बैठक नभई पार्टीभित्रको रणनीतिक ‘पावर शो’ हुनसक्ने अनुमान गरिएको छ।

यसअघि ६ वैशाखमा खड्काले निवर्तमान केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए भने त्यसको एक दिनअघि गल्फुटारस्थित निवासमा शीर्ष नेताहरूसँग गोप्य भेटवार्ता गरेका थिए। अझ चासोको विषय त के छ भने, त्यही दिन गगन थापा स्वयं खड्कालाई भेट्न उनको निवास पुगेका थिए।

दुई नेताबीचको छलफलबारे औपचारिक रूपमा केही नखुलाइए पनि गुरूराज घिमिरे ले यसलाई “सामान्य शिष्टाचार भेट” मात्रै भनेका छन्। तर, राजनीतिक वृत्तमा भने यसलाई साधारण भेट मानिएको छैन।

सर्वोच्च अदालतले पार्टीको आधिकारिकतासम्बन्धी रिट खारेज गरेपछि सुरु भएको यी भेटघाट र भेलाहरूले कांग्रेसभित्र नयाँ समीकरण बन्ने संकेत गरिरहेका छन्। अब सबैको ध्यान १५ वैशाखको भेलातर्फ केन्द्रित भएको छ—जहाँबाट पार्टीभित्रको आगामी दिशाबारे ठोस सन्देश आउन सक्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया