६ आश्विन २०८३, मंगलबार | September 22, 2026

प्रतिनिधिसभा निर्वाचनका दिन ओलीले सम्झिए जीवनकै महत्वपुर्ण संयोग


0
Shares

काठमाडौँ,२१ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनका दिन आफ्नो जीवनका दुई महत्वपूर्ण संयोग स्मरण गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आज सुखानी शहीद दिवस परेको उल्लेख गर्दै यही दिन ६ वर्षअघि आफूले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेको बताएका छन् । यी दुवै दिन आफू मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएको दिन भएको उनले उल्लेख गरेका छन् ।

उनले लेखेका छन्–आज मेरो जीवनका दुई संयोगहरु भएको दिन हो । आज सुखानी शहीद दिवस हो भने आजकै दिन ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो। यी दुवै दिन मैले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हुन्।

झापा आन्दोलन, जसले निरंकुश व्यवस्थाको विरूद्ध विद्रोहको बिगुल फुकेको थियो। त्यही क्रममा हामीलाई जेल हालिएको थियो। झापा आन्दोलनका योद्धाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण राजवंशीलाई जेल सार्ने बहानामा निरंकुश व्यवस्थाले सुखानीको जंगलमा लगेर हत्या गरेको थियो। जेल सार्ने बहानामा हत्या गरिनलाग्दा पनि मृत्युको मुखबाट फर्केर आएको थिएँ र १४ वर्षको कठोर कारावास बिताएको थिएँ। देशलाई लोकतन्त्रको उज्यालो बिहानीमा लैजान बलिदान गरेका अमर शहीदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।

फागुन २१ कहिल्यै नबिर्सने दिन हो।

प्रतिक्रिया