एमालेको एघारौं महाधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष ओलीले के भने ? (पुर्णपाठसहित)
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले एघारौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गरेका छन् ।
भक्तपुरको सल्लाघारीमा आयोजित उद्घाटन सत्रमा ओलीले लिखित मन्तव्य राखेका थिए ।
अध्यक्ष केपी शर्मा ओलीको
एघारौँ महाधिवेशनको उद्घाटन समारोहको मन्तव्य
तपाईँहरुलाई सुन्दर नगरी भक्तपुरमा हार्दिक स्वागत गर्दछु ।
भक्तपुर– गौरवपूर्ण इतिहास र संस्कृति बोकेको विश्व सम्पदा,
हरेक लोकतान्त्रिक आन्दोलनमा बलिदानको कीर्तिमान राखेको देशभक्त नागरिकहरुको बासस्थान, परिश्रमी र इमान्दार किसानहरुका पसिनाले सिँचित उर्बर भूमि,
यस ऐतिहासिक नगरीमा तपाईँहरुको यो भव्य उपस्थिति देखेर म गौरवान्वित भएको छु ।
सम्झिरहेको छु, ३ महिना अगाडिका ती कहालीलाग्दा दिनहरु– जतिबेला देश युद्धभूमि जस्तै जलिरहेको थियो,
जतिबेला संविधान, लोकतन्त्र र यसका आधारस्तम्भ राजनीतिक दलहरुमाथि भीषण हमला गरिएको थियो,
र एउटा भाष्य निर्माण गर्ने कोशिस भइरहेको थियो– पुराना पार्टीहरु सकिए, नेताहरुका दिन गए । एमालेको सान्दर्भिकता समाप्त भयो ।
धुँवा, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै जब आज यो जनसागर यहाँ यसरी ओर्लिएको छ, म ढुक्कले भन्न सक्छु– लोकतन्त्र अजेय छ, नेकपा (एमाले) अजम्बरी छ ।
मङ्सिरको चिसो सिरेटो पञ्छाउँदै यहाँ आउनु हुने तपाईँहरु सबैलाई फेरि पनि हार्दिक स्वागत छ ।
नेपालका प्रत्येक वडा–वडा, टोल–टोल, हिमाल–पहाड–तराई र प्रवाससम्म छरिएको एमालेको महासागरका अगाडि यो सभामा जम्मा भएका हामी केही थोपा मात्रै हौँ ।
तर, यिनै थोपा भित्रको साहस, भरोसा, माया, अनुशासन र उत्साहसहित उभिएको यो उपस्थिति गर्वको विषय हो ।
दाजुभाइ दिदीबहिनीहरु,
आजबाट हामी हाम्रो पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशन सुरु गर्दैछौं । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएयता हामीले ७७ वर्ष व्यतीत गरेका छौँ ।
ती ७७ वर्षहरु, जसमा हामीले प्रत्येक दिन देशका निम्ति खर्चेका छौँ । जनताका निम्ति सुम्पेका छौँ ।
देशको सार्वभौमसत्ता, राष्ट्रियता, राष्ट्रहित र स्वाभिमानका लागि हरपल अर्पेका छौँ । जनताका अधिकार, न्याय र सुख एवं समृद्धिका लागि समर्पित गरेका छौँ ।
नेकपा (एमाले)जस्तो देशभक्त र नेपाली जनताको हितमा समर्पित पार्टीलाई अब निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने दृढ संकल्पका साथ हामी अघि बढिरहेका छौं । र, यो एघारौँ महाधिवेशन यस महान् अभियानरुपी यात्रामा एउटा नयाँ मोडको रुपमा भव्यताका साथ आयोजना गरिरहेका छौं । हाम्रा नीतिहरु स्पष्ट छन् । यी नीतिहरु कार्यान्वयन गर्ने सुदृढ, व्यापक र दृढ संकल्पित लोकप्रिय पार्टी र संगठन हामीसँग छ ।
म हाम्रो पार्टीका संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी, प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी लगायत ती सबै अग्रजहरु, शहीदहरु, योद्धाहरु र आन्दोलनमा वर्णन नै गर्न नसकिने कष्ट सहनु हुने न्यायप्रेमी जनसमुदायप्रति हार्दिक श्रद्धा अर्पण गर्न चाहन्छु, जसको बलिदान बिना हामी यहाँ आइपुग्नै सक्दैनथ्यौँ ।
तपाईँहरुलाई साक्षी राखेर सङ्कल्प गर्छु– हामी उहाँहरुको आदर्श र बलिदानलाई कहिल्यै बिर्सने छैनौँ ।
यति लामो यात्रामा हामीले कहिल्यै गल्ती गरेनौँ या हामीबाट कमजोरी रहेन भन्ने होइन, तर हाम्रो निष्ठा, समर्पण र इमानप्रति हामीलाई गौरव छ ।
कम्युनिष्ट पार्टीको यही बलिदानी सङ्घर्षका बलमा आज मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरित भएको छ ।
सात सालको क्रान्तिमा कम्युनिष्ट पार्टी भर्खरै स्थापना भएको थियो । यसको नेतृत्वदायी भूमिका नहुँदा क्रान्ति अधुरो रह्यो ।
२०४६ सालमा कम्युनिष्ट पार्टी सबल र संयुक्त नेतृत्व गर्ने ठाउँमा विकसित भएको थियो, आन्दोलनले राजाको निरङ्कुशता र पञ्चायती तानाशाहीलाई अन्त्य ग¥यो ।
२०६२÷०६३ मा कम्युनिष्ट पार्टी नेतृत्वदायी भूमिकामा रह्यो, तसर्थ राजतन्त्र अन्त्य भयो, गणतन्त्र स्थापना भयो र जनताको हातले संविधान लेखियो । त्यतिबेला अरु पार्टीहरुका भूमिका तपार्इँहरुको सम्झनामा ताजै छन् ।
त्यसैले भन्न सक्छौँ– कम्युनिष्ट पार्टी जति जति बलियो हुन्छ, त्यति त्यति लोकतन्त्रले पूर्णता पाउँछ । राष्ट्रिय स्वाभिमान सुदृढ हुन्छ । समृद्धिको यात्रा अगाडि बढ्छ ।
आज हामी पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा सुदृढ गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य हासिल गर्न अगाडि बढ्न चाहन्छौँ ।
कमरेडहरु, दाजुभाइ दिदीबहिनीहरु,
आठ दशकको यस गौरवशाली यात्रामा हामीले केही बिरासतहरु, केही मानकहरु, केही पहिचानहरु बनाएका छौँ ।
नेकपा (एमाले) अर्थात् राष्ट्रियताको पहरेदार, देशभक्तिपूर्ण आन्दोलनको नायक ।
नेकपा (एमाले) अर्थात् लोकतान्त्रिक आन्दोलनको अग्रपङ्क्तिको योद्धा, यसको अभेद्य किल्ला ।
नेकपा (एमाले) अर्थात् सामाजिक न्याय र सामाजिक सुरक्षाको ‘पायनियर’, जसका कारण आज ३८ लाख नागरिकहरुले जीवनमा एउटा सहारा पाउनु भएको छ ।
नेकपा (एमाले) अर्थात् सामाजिक सद्भाव र राष्ट्रिय एकताको संबाहक, जसले विभिन्न बहानामा समाजलाई विखण्डित गर्ने र जनतालाई विभाजित गर्ने कुचेष्टालाई असफल पार्दै आएको छ ।
नेकपा (एमाले) अर्थात् समावेशिताको अगुवा, जसले राज्यका हरेक अङ्गमा न्यूनतम एक तिहाइ महिला सहभागिता सहित दलित, अल्पसङ्ख्यक र पछाडि पारिएका समुदाय, क्षेत्र र वर्गलाई मूलधारमा
