ओली-प्रचण्ड मिल्लान् ?

काठमाडौं, २३ वैशाख । कम्युनिष्ट नेताहरु फुट्ने र जुट्ने क्रम चलिरहेको छ । यो क्रम कम्युनिस्ट पार्टी राणाकालमा स्थापना भएदेखिकै हो ।
माले, माक्र्सवादी, एकता केन्द्र, मसाल, जनमोर्चा जस्ता विभिन्न समूहमा विभाजित कम्युनिष्टहरु अहिले मुख्य गरी एमाले, समाजवादी र माओवादीका नाममा विभाजित छन् । एमाले फुटेर समाजवादी बनेको हो ।
विगतमा एमाले र माओवादी मिलेर नेकपा बनेका थिए । तर, सत्ता संघर्षमा दुवै फुटे । अब फेरि कम्युनिस्टहरु सत्ता स्वार्थका लागि मिल्न खोजेका छन् ।
पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीचको भेट बाक्लिएको छ । सिंहदरबार र संसद भवनमा भएका भेटका तस्बिर सार्वजनिक भएको छ । यो भेट अर्थपूर्ण छ । दुवै नेता नजिकिनुलाई सत्ता स्वार्थसँग जोड्न थालिएको छ ।
त्यसो त कुनैबेला यी दुई नेता एक अर्काका कटु आलोचक थिए । तर, दुवै मिलेर नेकपा बनाए । पछि नेकपा विघटन गरे यी दुईको टकरावले । फेरि यी दुई मिलेर सरकार बनाए । प्रचण्ड प्रधानमन्त्री बने ओलीको साथ पाएर । ओलीले नै सरकार ढाले ।
पछिल्लो समय ओली र प्रचण्डबीच टकराव छ । तर, फेरि दुवै नजिक बन्न थालेका छन् । कुनैपनि बेला कम्युनिस्टहरुको मात्र सरकार बन्न सक्छ ।