जेएनयूमा वामपन्थी कमजोर बन्दै

एजेन्सी, १६ वैशाख । भारतको दिल्लीस्थित जवालहरलाल नेहरु विश्वविद्यालय लोकप्रीय मात्र नभई आकर्षणको विश्वविद्यालय हो । त्यहाँ वामपन्थी विद्यार्थीहरुको वर्चश्व लामो समययता रहँदै आयो । यसपटक भने उनीहरुलाई धक्का लागेको छ ।
जेएनयू विद्यार्थी युनीयनको चुनावमा कुल ४६ सिटमा गैरवामपन्थीले २३ सिट जितेका छन् । केन्द्रीय पदमा सभापति, उपसभापति र महासचिवमा वामपन्थीले कडा प्रतिष्पर्धामा जितेपनि सहसचिव अखिल भारतीय विद्यार्थी परिषदका उम्मेदवार विजयी भए ।
सभापति, उपसभापति र महासचिवमा झीनो मतान्तर भयो यसपाली । विगतका वर्षहरुमा वामपन्थी विद्यार्थीले दोब्बरभन्दा बढी मतान्तरले जित्थे । वामपन्थी खेमाका नितिश कुमारले १७०२ मत ल्याएर सभापति जित्दा प्रतिष्पर्धी एबीभीपीकी शिखा स्वराजले १४३० मत ल्याइन् । उपसभापतिमा नितु गौतमले ११५० मत ल्याउँदा सन्तोष कुमारले १११६ मत ल्याए ।
महासचिवमा मुनतेहा फतिमाले १५२० मत ल्याउँदा एबीभीपीका कुनाल राईले १४०६ मत ल्याए ।
जेएनयूमा झण्डै एक दशकपछि एबीभीपीले केन्द्रीय पद जितेको छ । उसको प्रभाव जेएनयूमा पनि बढ्दै गएको छ ।