ट्रम्प-पुटिन टेलिफोन वार्तामा के के भयो

एजेन्सी, ६ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ । मंगलबार भएको वार्तामा युक्रेन युद्ध अन्त गर्नेबारे छलफल भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
दुई नेताबीच साँढे दुई घन्टा वार्ता भएको थियो । ह्वाइट हाउस र क्रेमलिनले वार्तालाई सकारात्मक भनेका छन् ।
वार्तामा रुस युक्रेन युद्धको सम्भावित युद्धविरामबारे छलफल भएको थियो । युद्धविराम ३० दिन हुनसक्ने बताइएको छ ।
युक्रेनको ऊर्जा पूर्वाधारमा रुसले आक्रमण रोक्ने प्रस्ताव ट्रम्पले राखेका छन् । पुटिनले त्यसलाई स्वीकार्दै तत्काल सैनिकलाई आदेश दिएर ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न लगाएका छन् ।
युद्धबन्दी आदानप्रदानबारे पनि छलफल भएको छ । दुवै पक्षले बुधबार नै १७५ जना युद्धबन्दी आदानप्रदान गर्ने भएका छन् ।
दुई नेताबीच सम्बन्ध सुधार र शान्ति स्थापनाबारे पनि कुराकानी भएको जनाइएको छ ।