२९ फाल्गुन २०८१, बिहिबार | March 13, 2025

त्रिचन्द्र क्याम्पसमा विवेक बानियाँको सभापतिमा उम्मेदवारी


2.3k
Shares

काठमाडौं,२९ फागुन । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा असन्तुष्टी जनाउँदै त्रिचन्द्र क्याम्पसमा सभापति पदमा विवेक बानियाँले स्वतन्त्र विद्यार्थीको तर्फबाट उम्मेदवारी दिएका छन् ।

नेपाल स्वाभिमानी स्वतन्त्र विद्यार्थी संघको तर्फबाट स्ववियु निर्वाचन २०८१ मा अध्यक्षमा बानियाँसहित सचिवमा गौरव पाण्डे र कोषाध्यक्षमा अविना पौडेलले प्यानलै बनाएर उम्मेदवारी दर्ता गराएका हुन् ।

त्रिचन्द्र क्याम्पसमा लामो समयदेखि नेविसंघको राजनीतिमा सक्रिय बानियाँले कांग्रेस महामन्त्री गगन थापा निकटलाई मात्र पदाधिकारीसहित सबै पदमा उम्मेदवार बनाएपछि असन्तुष्टि बढेको बताए ।  “हाम्रो यति धेरै वर्षदेखिको योगदान नेविसंघ नेतृत्वले बुझेन, नेविसंघमा बसिरहनु मात्रको कुनै अर्थ छैन्,त्यसकारण स्वतन्त्र विद्यार्थी संघ गठन गरेर पनि उम्मेदवारी दिएका हौ । मेरो उम्मेदवारी कुनै हालतमा फिर्ता लिन्न ।”–बानियाँले भने ।

बानियाँले सम्पुर्ण क्याम्पस क्षेत्रमा निशुल्क वाइफाइ सेवा उपलब्ध गराउने, डिजिटल सुचना बोर्ड स्थापना गरी सबै महत्वपुर्ण सुचनाहरु सहजै प्राप्त हुने व्यवस्था गर्ने,त्रिवि तथा सरकारसँग प्रभावकारी रुपमा समन्वय गर्नेलगायतका एजेण्डाहरु अघि सारेका छन् ।

त्रिचन्द्र क्याम्पस पुन नेपालको शैक्षिक केन्द्र बनाउन,गुणस्तरीय शिक्षा र रोजगारीका अवसरहरु प्राप्त गर्न,अनुसन्धान प्रविधि र नवाचारमा क्याम्पस अगाडी बढ्न लगायतका लागि स्ववियु अध्यक्षमा आफुलाई जिताउनु पर्ने उनको भनाइ छ ।

आगामी चैत ५ गते हुने त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदैछ । चैत ५ गते बिहान ८ बजेदेखि ४ बजेसम्म मतदानका लागि समय तोकिएको छ ।

प्रतिक्रिया