पाथिभरा क्षेत्रमा फेरी तनाव : सुरक्षा निकाय र सर्वसाधारणलाई संयम हुन गुरुङ्गको आग्रह

काठमाडौं,८ फागुन । ताप्लेजुङको पाथिभरा क्षेत्रमा आज फेरी विवाद उत्पन्न भएको छ । बिहीबार राजेन्द्र महतोसहितको नो केबलकार समुह क्षमा पूजाको लागि त्यहाँ पुगेको थियो ।
केही बेर पूजा गरेपछि उनीहरु केबलकार निर्माणस्थल पुगेर केही बेर भाषण पनि गरे । भाषणपछि प्रहरीमाथि ढुंगामुढा गर्न थाले । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन खोज्दा दोहोरो झडपको स्थिति सृजना भएको हो ।
यसै विषयलाई लिएर नेपाल तरुण दलका केन्द्रीय सदस्य संजिब गुरुङ्गले ताप्लेजुङमा केबलकार बनाउने बहानामा व्यापारिक द्धन्द्धले झडप सिर्जना भएको टिप्पणी गरेका छन् । त्यहाँ बेला–बेलामा तनावको स्थिति उत्पन्न हुँदै आएको भन्दै उनले यसबारे सुरक्षा निकाय र सर्वसाधारण संयम हुनुपर्नेमा जोड दिएका छन् ।
समाजसेवी समेत रहेका युवानेता गुरुङ्गले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ताप्लेजुङ केवलकार बनाउने बहानामा व्यापारिक द्वन्दले झडप सिर्जना भएको छ राज्यको सुरक्षा संयन्त्र र सर्वसाधारण संयम हुनु आजको आवश्यकता ।’
क्षमा पुजाको लागि ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, राजेन्द्र महतो, रकम चेम्जोङ, डकृेन्द्र थेगिम, राम मादेन, प्रेम एक्तेन, चन्द्र मादेन सहितका नेताहरु त्यहाँ पुगेका थिए । आज भएको झडपमा नेपाल प्रहरी ६ जना, सशस्त्र प्रहरी ५ जना र नो केबलकार समूहका १ जना घाइते भएको बुझिएको छ ।