१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

महानायक राजेश हमालको नाममा भ्रष्टाचार !

आयोगका अनुसार अछामको ढकारी गाउँपालिकामा राजेश हमालको नाम जोडेर फिल्म बनाउने भन्दै १५ लाख रुपैयाँ बजेट छुट्याइएको थियो। तर प्रक्रिया मिच्दै १२ लाख ७७ हजार २५० रुपैयाँ भुक्तानी गरिएको र उक्त रकम हिनामिना गरिएको आरोप लगाइएको छ।


747
Shares

काठमाडौँ । महानायक राजेश हमालको नाम दुरुपयोग गर्दै गरिएको कथित वृत्तचित्र (डकुमेन्ट्री) निर्माणमा लाखौँ रुपैयाँ भ्रष्टाचार भएको खुलासा भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेसँगै यो प्रकरण बाहिर आएको हो।

आयोगका अनुसार अछामको ढकारी गाउँपालिकामा राजेश हमालको नाम जोडेर फिल्म बनाउने भन्दै १५ लाख रुपैयाँ बजेट छुट्याइएको थियो। तर प्रक्रिया मिच्दै १२ लाख ७७ हजार २५० रुपैयाँ भुक्तानी गरिएको र उक्त रकम हिनामिना गरिएको आरोप लगाइएको छ।

यस प्रकरणमा गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह र लेखापाल विमल साउदविरुद्ध मुद्दा दायर गरिएको छ। साथै, आर।जे। ट्वान्टी फोर न्युज तथा नव इन्द्रेणी फाउन्डेसनका अध्यक्ष रामजी लम्साललाई पनि प्रतिवादी बनाइएको छ।

अनुसन्धानबाट सार्वजनिक खरिद ऐनको ठाडो उल्लङ्घन भएको देखिएको छ। बिना प्रतिस्पर्धा सोझै सम्झौता गरिएको, कानुनी सीमाभन्दा बढी पेस्की दिइएको र बैंक ग्यारेन्टीसमेत नलिई रकम भुक्तानी गरिएको आयोगले जनाएको छ।

अझ चकित पार्ने कुरा के भने, पेस गरिएका बिलहरू नै शंकास्पद र नक्कली देखिएको तथा वास्तविक काम नै नगरी योजनाबद्ध रूपमा रकम हिनामिना गरिएको आरोप छ।

आयोगले मुख्य अभियुक्त प्रकाशबहादुर साउदले पदको दुरुपयोग गरी आफू र अन्यलाई फाइदा पुर्‍याउने नियतले काम गरेको ठहर गर्दै थप सजायको माग गरेको छ।

भ्रष्टाचार निवारण ऐनअन्तर्गत बिगो असुलउपरसहित कडा सजायको माग गर्दै विशेष अदालतमा आरोपपत्र दर्ता गरिएको छ।

प्रतिक्रिया