२६ माघ २०८१, शनिबार | February 8, 2025

एनभिए डे –२०८१ भव्यताका साथ सम्पन्न


February 6, 2025
9k
Shares

काठमाडौं,२४ बिहीबार । मुल्यांङकन पेशामा कार्यरत ईन्जिनियरहरूको छाता संगठन नेपाल भ्यालुयर्स एसोसिएशन (एनभिए)ले १४औं स्थापना दिवस (एनभिए डे –२०८१) भव्यताका साथ सम्पन्न गरेको छ ।

ठमेलस्थित होटल यात्रीमा बुधबार आयोजना गरिएको कार्यक्रममा नेपाल इन्जिनियरिङ्ग परिषदका अध्यक्ष प्रा.डा. पदम बहादुर शाही प्रमुख अतिथि र नेपाल इन्जिनियरिङ्ग परिषदका रजिष्टार ई.शिवमंगल गिरी, नेपाल इन्जिनियर्स एशोसिएशनका अध्यक्ष ई. सुभाष बराल विशेष अतिथि थिए ।

एनभिए डे –२०८१ विशेष कार्यक्रमलाई सम्बोधन गर्दै एनभिएका अध्यक्ष संजयकुमार महतोले नेपाल इन्जिनियर्स एशोसिएशन, नेपाल इन्जिनियरिङ परिषद्, सेन्टर फर डेमोक्रेटिक इन्जिनिर्यस एशोसियन नेपाल (सिडेन), प्रोगेसिभ इन्जिनियर्स एशोसियसन नेपाल (पिन), नेपाल राष्ट्रिय इन्जिनियर संगठन (निओन), स्क्याप, नेपाल बैंकर संघ, नेपाल डेभलमेन्ट बैंकर एशोसियशन, नेपाल वित्त संघ लगायत संस्थाहरुलाई इन्जिनियरहरुको पीडा बुझ्न आग्रह गरे । उनले इन्जिनियरहरुको समस्या समाधान गर्नका लागि सबै इन्जिनियरिङ्ग संस्थाहरुको साथ र सहयोग आवश्यक रहेको बताए ।

त्यस्तै,नेपाल इन्जिनियरिङ्ग परिषदका अध्यक्ष प्रा.डा.पदम बहादुर शाहीले इन्जिनियरहरुका सबै व्यवसायिक समाजहरु एक ठाउँमा उभिएर अघि बढ्नुपर्ने धारणा राखे । इन्जिनियरिङ्ग व्यवसायमा सबैले भोग्नु परेको समस्यालाई आधिकारिक रुपमा एकिकृत गर्न इन्जिनियरिङ्ग परिषद तयार रहेको उनले स्पष्ट पारे । इन्जिनियरहरुको हकहितको लागि परिषद सधै तप्पर रहेको भन्दै उनले इन्जिनियरहरुले आफ्नो क्षमता बुझेर त्यो अनुसार प्रगती गर्दै जानुपर्ने बताए । उनले भने, “देशको प्रगति भए हाम्रो हुने होइन,हाम्रो प्रगती भए देशको प्रगती हुनेछ । त्यसमा ध्यान राख्नुपर्छ ।”

त्यसैगरी, नेपाल इन्जिनियर्स एशोसियसन (एनइए) का अध्यक्ष ई. सुभाषचन्द्र बरालले एनभिएलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । भ्यालुयर्स इन्जिनियरहरुको समस्या विशेष गरी एनभिएले बुझेको र धेरै भोगेको पनि हुनाले समाधानका लागि लिड पनि एनभिएले नै गर्नुपर्ने सल्लाह दिए । समग्र पेशालाई मर्यादित बनाउनमा बैंक र इन्जिनियरहरु दुवै पक्षको हितमा हुनेगरी व्यवस्थित बनाउन कन्टेन्टमा ध्यान दिन पनि आग्रह गरे । उनले भने, “एकोहोरो कुरालाई मात्र लिएर गयौ भने कतिपय कुरा सुनुवाइ नहुन नी सक्छ । एनइएले इन्जिनियरहरुका हकहितका लागि अग्रस्थानमा रहेर कुरा गर्न सक्छौं । तर मन्त्रालय र काउन्सिलमा जोडियो भने एकोहोरो कुराले स्थान नपाउन पनि सक्छ । त्यसैले समग्र पेशालाई मर्यादित बनाउन व्यवस्थित हिसाबले कन्टेन्टमा काम गरौं, त्यसमा इन्जिनियर्स एशोसिएशन तयार रहेको प्रतिबद्धता व्यक्त गर्न चाहान्छु ।”

 

कार्यक्रममा सम्मानित व्यक्तित्व वरिष्ठ आर्किटेक्ट बाबुराम बरालले मुल्यांकन इन्जिनियरहरुको पेशा स्थापित हुनुपर्नेमा पलायन बढी भएकोमा चिन्ता व्यक्त गरे । इन्जिनियरिङ्ग पेशासँग सम्बन्धित सबै संस्थाहरुले पेशा स्थापित गर्न भुमिका खेल्नुपर्ने बताए ।

विशिष्ट अतिथि नेपाल इन्जिनियरिङ्ग परिषदका रजिष्ट्रार ई. शिवमंगल गिरीले वित्तियसँग जोडिएको इन्जिनियर पेशा ठुलो र महत्वपुर्ण भएको धारणा राखे । भ्यालुयर्स इन्जिनियरहरुको दिर्घकालिन समस्या समाधानका लागि निर्देशिका बनाउनु पर्नेमा जोड दिंदै त्यसको लागि समन्वय गर्न काउन्सिल तयार रहेको बताए । उनले भने, “भ्यालएशन गर्ने कसरी,हुने कसरी र के कारणले घटबढ हुनसक्छ, गलत पनि हुनभएन, बढी पनि हुनुभएन, कम पनि हुन भएन त्यसका पारामिटर के के हुन त ? त्यो कार्यविधि परिभाषित गर्ने एउटा निर्देशिका बनाइयो भने, त्यसमार्फत समन्वय गर्न इन्जिनियरिङ परिषद तयार छ ।”

त्यसैगरी, अथिति भुमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव गणेशप्रसाद भट्टले भ्यालुयर्स इन्जिनियरहरुले फरक–फरक तरिकाले मुल्यांकन गरिरहेको भन्दै सबैलाई समेटेर एउटा स्टिमलाइन बनाउनु पर्नेमा जोड दिए । इन्जिनियरहरुलाई जग्गा लगायत सबैको मुल्य घट्छ भन्ने कुरा पनि ख्याल गर्न आग्रह गरे । सहसचिव भट्टले एनभिएसँग आगामी दिनमा मन्त्रालय र आफ्नो तर्फबाट पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एनभिएका संस्थापक महासचिव एवं निवर्तमान अध्यक्ष ऋषि कोइरालाले एनभिए १४ वर्षदेखि एक्लै लडिरहेको भन्दै नेपाल इन्जिनियरिङ परिषद् र नेपाल इन्जिनियङ्ग एशोसिएशनलाइृ पनि साथ दिन आग्रह गरे ।

 

यस्तै,एनभिएका कानुनी सल्लाहकार नारायण कोइरालाले इन्जिनियरिङ्ग पेशासँग आबद्ध हरेक पेशाका साझा समस्याहरुलाई एक ठाउँमा ल्याएर त्यसलाई सम्बन्धित ठाउँमा पुराएर टुंग्याउन सधै एनभिएलाई सल्लाह दिइरहेको बताए ।

डेमोक्रेटिक इन्जिनिर्यस एशोसियन नेपाल (सिडेन) का अध्यक्ष लक्ष्मण केसीले इन्जिनियरहरुको समस्या मन्त्रिपरिषदमा लैजान आफुले मन्त्रीसँग नै लविङ गर्ने प्रतिवद्धता जनाए । संसद चलिरहेको हुनाले चाडो भन्दा चाडो वर्कआउट गरेर जानुपर्ने तर्क गरे । उनले भने, “मन्त्रिपरिषदमा लैजान पर्ने हो भने कुन कुन कानुन शंसोधन गर्नुपर्छ, हामी सबै बसेर छलफल गर्रौ, काउन्सिल,एनइएको अध्यक्षसँग पनि बसौ त्यो लविङ गर्न म तयार छु ।” केसीको प्रस्ताव र प्रतिवद्धतामा प्रोगेसिभ इन्जिनियर्स एशोसियसन नेपाल (पिन)का महासचिव भेषराज थापा,नेपाल राष्ट्रिय इन्जिनियर संगठन (निओन)का सहसंयोजक अन्जित गौतमलगायतले  समर्थन जनाएका थिए ।

 

त्यसैगरी, एनभिएका सचिव ई. रबिन्द्र अधिकारीले इन्जिनियरहरुको हक हितका लागि स्थापना भएका संघ संस्थाहरुले एनभिएलाई सहयोग गर्न आग्रह गरे । उनले भने,“कि त पेशा रोक भन्नुहोस् की त कालोसुचीमा पर्ने समस्याबाट इन्जिनियरहरुलाई मुक्ति दिलाउनुस् । दिनदिनै इन्जिनियरहरु कालोसुचीमा परिरहेका छन्, काउन्सिल,एनइए लगायतले कानमा तेल हालेर बस्न भएन, तत्काल एक्सन लिनु पर्यो ।”

वि.स.२०६८ सालमा स्थापना भएको एनभिएले स्थापना दिवसको अवसरमा बुधबार वरिष्ठ आर्किटेक्ट ई. बाबुराम बराललाई विशेष सम्मान पनि गरेको थियो ।  कार्यक्रममा महासचिव ई. अशोक सिलवालले एनभिएको बारेमा संक्षिप्त जानकारी गराएका थिए भने कार्यक्रमको सञ्चालन सचिव ई.अधिकारीले गरेका थिए । अध्यक्ष ई.महतोले आफ्नो मन्तव्यसहित कार्यक्रमको समापन गरेका थिए ।
नेपाल भ्यालुयर्स एसोसिएशन (एनभिए)को १४औं स्थापना दिवस (एनभिए डे –२०८१) देशभर मुल्यांकनसम्बन्धि कार्य स्थगित गरेर भव्यताका साथ मनाइएको छ ।

केन्द्रसँगै गण्डकी प्रदेश कार्यालय, सुदुरपश्चिम प्रदेश कार्यालय, लुम्बिनी प्रदेश कार्यालय,मधेश प्रदेश जनकपुर, कोशी प्रदेश,कर्णाली प्रदेश र चितवन च्याप्टर, हेटौंडा च्याप्टर, नेपालगञ्ज च्याप्टरले पनि विभिन्न कार्यक्रमको आयोजना गरेर १४औं स्थापना दिवस मनाएका थिए । उक्त कार्यक्रम लिटमस केवलले प्रायोजन गरेको थियो ।

प्रतिक्रिया