बैना लिएर जग्गा पास नगरिएदिएपछि एमालेबाट वडाध्यक्ष भइसकेका मोहन बिष्ट पक्राउ
काठमाडौं, २७ पौष । नेकपा एमालेभित्र स्थानीय निकायमा सहकारी ठगी र जग्गा व्यवसायमा ठगी गने र किर्ते गर्नेको बोलवाला देखिएको चर्चा चल्दै आएको छ । पैसाको बलमा त्यस्तै पात्रले टिकट हत्याएपछि एमालेभित्र त्यतिबेला व्यापक असन्तुष्टि बढेको थियो । कतिपयले जग्गा कारोबारी र सहकारी कारोबारीले टिकट पाए समेत भने । परिणाम अहिले देखिदैछ । एमालेबाट स्थानीय निकायमा निर्वाचित र चुनाव लडेकाहरु धमाधम ठगी प्रकरणमा मुछिएका छन् । यस्तै भएको छ काठमाडौं महानगरपालिका वडा नम्बर ४ को वडाध्यक्षबाट ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट काठमाडौँ महानगरपालिका वडा नम्बर ४ को अध्यक्षमा निर्वाचित मोहनबहादुर विष्ट ठगी आरोपमा पक्राउ परेका छन्। काठमाडौं प्रहरीले उनलाई जग्गासम्बन्धी ठगी आरोपमा पक्राउ गरेको हो। पूर्ववडाध्यक्ष विष्टमाथि झन्डै ८ करोड ठगीको आरोप लागेको छ।
तारकेश्वरका राजेन्द्र कोइरालासँग धर्मस्थलीमाको जग्गामा ७ करोड ८७ लाख रुपैयाँ बैना लिएर जग्गा पास नगरिदिएपछि ठगी गरेको आरोपमा प्रहरीले पूर्ववडाध्यक्ष विष्टलाई पक्राउ गरेको हो। उक्त ठगी प्रकरणमा संलग्न रहेको भनिएका रबित विष्ट, सुलोचना कँडेल, शान्ति पाठकलगायतलाई पनि प्रहरीले खोजी गरिरहेको छ। पूर्ववडाध्यक्ष विष्टलाई भने प्रहरीले पक्राउ गरेर अनुसन्धान दायरामा ल्याएको हो।