अरबौंको खेलमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन खोजिएपछि…
काठमाडौं, २४ पौष । नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको खेलका कारण नेपाल धीतोपत्र बोर्डको अध्यक्षमा नियुक्तिमा रस्साकस्सी नै परेको थियो । अनेकन चलखेलपछि सन्तोषनारायण श्रेष्ठ नियुक्त भए ।
श्रेष्ठको नियुक्तिलगत्तै सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया केपी शर्मा ओली नेतृत्वको सरकारले बढाइसकेको छ । यसमा ठूलै गिरोह सक्रिय छ । अरबौंको चलखेल रहेकोले स्वार्थी समूहहरु बोर्ड अध्यक्षमा आफ्नो मान्छेको नियुक्तिमा सुरु देखि लागेका थिए ।
सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया अगाडि बढाएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भइसकेको छ । रिटमा नयाँ स्टक एक्सचेन्जको अनुमति प्रक्रिया रोक्न परमादेशको माग गरिएको छ । धीतोपत्र सम्बन्धी ऐन २०६३ को दफा ११८ को गलत व्याख्या गरी धीतोबजार सञ्चालनका लागि नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन खोजिएको रिटमा उल्लेख छ । जसमा नेपाल धितोपत्र बोर्डले बनाएको निर्देशिका नै कानूनसँग बाझिएको भनिएको छ ।
नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया बढाउने निर्णयसहित अध्ययन कार्यदलको प्रतिवेदन अर्थ मन्त्रालय पठाउने निर्णय ओली क्याबिनेटले गरिसकेको छ ।