२४ पुस २०८१, बुधबार | January 9, 2025

रवि लामिछानेका तर्फका वकिलहरुको बहस सकियो,अदालतमै नाराबाजी


January 8, 2025
1.7k
Shares

पोखरा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकले कास्की जिल्ला अदालतअघि नाराबाजी गरेका छन् । मंगलबार थुनछेक बहस सकेर लामिछानेसमेतलाई प्रहरी भ्यानमार्फत जिल्ला प्रहरी कार्यालय गैह्रापाटन लैजाने क्रममा तिनका समर्थकले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस महामन्त्री गगनकुमार थापासमेत सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

अदालतबाट बाहिरिनेक्रममा सधैंझैं आफ्ना समर्थकलाई हात हल्लाउँदै जाने गरेका लामिछानेलाई मंगलबार भने प्रहरीले छेकेर लगेको थियो । सो विषयमा आक्रोशित समर्थकले प्रहरीको ज्यादतीसँगै लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै एक्कासि नाराबाजीमा उत्रिएका थिए । सिमसिम पानीसमेत परेको अवस्थामा प्रहरीले उनीहरूलाई लाठी प्रयोग गरी तितरबितर पारेर लखेटेको थियो ।

यसैबीच, सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिवादी बनाइएका लामिछानेका तर्फबाट उनका वकिलहरूको बहस सकिएको छ । दुई दिन लगाएर तिनका वकिलहरूले बहस सकेका हुन् । उनीहरूको बहस जिकिरमा अभियोग हदम्याद नाघेर आएकाले खारेजभागी हुनुपर्ने, सहकारीबाट गोर्खा मिडियामा लगिएको भनिएको रकममा मुख्य दोषी जीबी राईलाई उपस्थित गराउनुपर्ने, लामिछाने कुनै पनि सहकारीको सेयर सदस्य नभएका र उनले रकम हिनामिना नगरेको, सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसमेतका मुद्दा राजनीतिक प्रतिशोधका कारण लगाइएको समेतका तर्क पेस गरेका छन् ।

पहिलो दिन सोमबार उनका तर्फबाट तीन जना वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, रमनकुमार श्रेष्ठ र सुरेन्द्र थापाले बहस गरेका थिए । मंगलबार वरिष्ठ अधिवक्ताहरू नारायण घिमिरे, नारायण कँडेल, रोहितराज बास्तोला, अधिवक्ता ईश्वरी पौडेलसमेतले बहस गरेको स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

बिहान ११ देखि दिउँसो ३ बजेसम्म लामिछानेको पक्षका वकिलले बहस गरेका हुन् । इजलासबाटै ३ बजेसम्म उनीहरूलाई बहसको समय छुट्ट्याइएको थियो ।

त्यसपछि बाँकी १ घण्टा अर्का प्रतिवादी रामबहादुर खनालका पक्षका वकिलले बहस गरे । खनालका तर्फबाट नेपाल बार एसोसिएसनका गण्डकी प्रदेश उपाध्यक्षसमेत रहेका वीरेन्द्र केसी, उज्ज्वल सापकोटाले बहस गरे । रामबहादुरका तर्पmबाट बुधबार ९आज० एक जना मात्र अधिवक्तालाई समय दिइएको छ ।

त्यसपछि बाँकी तीन जना प्रतिवादी गण्डकी प्रदेशकी पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङका तर्फबाट कानुन व्यवसायीले थुनछेक बहस गर्ने स्रेस्तेदार खनालले बताए ।

हालसम्म गोर्खा मिडियाका पूर्वसञ्चालक पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं र रवि लामिछानेका वकिलहरूले बहस सकेका हुन् । सबै प्रतिवादीतर्फका वकिलहरूको बहस सकिएपछि अन्तिम दिन उच्च सरकारी वकिल कार्यालय पोखराका महान्यायाधिवक्ता गोविन्दराज गौलीको जवाफी बहससँगै अदालतबाट आदेश आउनेछ ।

न्यायाधीश नीतिज राईको इजलासले हाल उपस्थित गराइएका सात जना प्रतिवादीलाई पुर्पक्षका लागि थुनामै पठाउने कि धरौटी वा साधारण तारेखमै छाड्नेमध्ये एक आदेश दिनेछ ।

बहुचर्चित पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम ठगीसमेतका मुद्दामा ६३ जनालाई प्रतिवादी बनाएर कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

गत वर्ष १८ असोजमा सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जीबी राईसमेत १९ जनालाई प्रतिवादी बनाई मुद्दा दायर भएकामा यस वर्ष ५ र ७ पुसमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति लामिछाने, पूर्वडीआईजी जोशीसमेतलाई प्रतिवादी बनाएर पूरक अभियोग लगिएको थियो । ती प्रतिवादीविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा बिगो मागदाबी गरिएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया