१६ आश्विन २०८३, शुक्रबार | October 2, 2026

बराबर मतपछि केशव अधिकारीको माग : ‘पुनः मतगणना गरियोस्’


October 2, 2026
0
Shares

तनहुँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा महाधिवेशन प्रतिनिधिको मतगणना पेचिलो बनेको छ। अन्तिम १० मा पुग्ने प्रतिस्पर्धामा जिल्ला उपसभापति देवकुमार श्रेष्ठ र नेता केशव अधिकारीले ३२४–३२४ बराबर मत पाएपछि अधिकारीले पुनः मतगणनाको माग गरेका छन्।

मतगणनाका क्रममा देखिएको अस्तव्यस्तता तथा प्रक्रियागत त्रुटिप्रति असन्तुष्टि जनाउँदै अधिकारीले बराबरी मत आएको संवेदनशील अवस्थामा निष्पक्ष र पारदर्शी रूपमा पुनः मतगणना गर्न निर्वाचन आयोगसँग जोडदार माग गरेका हुन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै अधिकारीले आफूलाई मत, सल्लाह र सद्भाव दिने सम्पूर्ण मतदाता, पार्टीका अग्रज, समकालीन तथा शुभचिन्तकप्रति आभार व्यक्त गरेका छन्।

उनले निर्वाचनमा हार–जीत स्वाभाविक भए पनि मतदान र मतगणनाका क्रममा देखिएका अवाञ्छित तथा पक्षपातपूर्ण गतिविधिमाथि प्रश्न उठाएका छन्। साथै, पार्टीभित्र मौलाउँदै गएको ‘दास प्रवृत्ति’ विरुद्ध सचेत युवा पंक्तिले संघर्ष गर्नुपर्ने धारणा पनि राखेका छन्।

‘महाधिवेशन प्रतिनिधिका लागि मत बराबर आएकाले पुनः मतगणना गरी उचित निर्णयमा पुग्न निर्वाचन आयोगसँग जोडदार माग गर्दछु,’ अधिकारीले भनेका छन्।

अब ३२४–३२४ को बराबरी मत कसरी टुंगिन्छ भन्ने विषयले तनहुँ कांग्रेसको महाधिवेशन प्रतिनिधि छनोटलाई थप रोचक बनाएको छ। अधिकारीले परिणाम जुनसुकै आए पनि पार्टी संगठन, लोकतन्त्रको रक्षा र जनताको सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया