२९ पुस २०८१, सोमबार | January 14, 2025

सुन तस्करी गर्नेविरुद्ध ५० करोड ६० लाखको मुद्दा


January 7, 2025
581
Shares

काठमाडौं,२३ पुस। मुलुकमा अस्वाभाविक रूपमा हुने गरेको राजस्व चुहावट रोक्न राजस्व अनुसन्धान विभागले आफ्नो अनुसन्धान र कारबाही प्रक्रियालाई तदारुकता दिएको छ । विभागले पछिल्लोपटक बिलबिजकविना सुुन तस्करी गर्ने विभिन्न व्यक्तिहरूविरुद्ध ५० करोड ६० लाखभन्दा बढी र हदैसम्मको कैद सजायको मागदाबी लिई सुन तस्करीमा संलग्न विभिन्न व्यक्तिहरुविरुद्ध मुद्दा दायर गरेको हो।

विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले राजस्व छली गर्नेहरुविरुद्धको अनुसन्धान र कारबाही प्रक्रियालाई तीव्रता दिइएको बताउनुभयो । महानिर्देशक घिमिरेले पछिल्ला केही दिनयता विभिन्न राजस्व छली गर्नेहरूविरुद्ध मुद्दा दायर गरेर ६० करोड बढीको बिगो दाबी गरिएको बताउनुभयो।

यसै गरी भन्सार जाँचपास भई आएका र ट्रान्सपोर्टका ढुवानी साधनको चेकजाँच गर्दा मूल्यांकन, वर्गीकरण, गुणस्तर, परिमाण, फरक पारी राजस्व चुहावट गरेको अभियोगमा विभिन्न फर्मलाई ८ करोड ३८ लाख जरिवाना तिराइएको पनि विभागका महानिर्देशक घिमिरेले जानकारी दिनुभयो।

विभागका अनुसार विभाग मातहतको पथलैया कार्यालयले जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी प्रतिवेदनसमेत अनुसन्धानका लागि पेस भएको ८ हजार २ सय ४३ दशमलव ९७० ग्राम बिलबिजकबिनाको सुनमा राजस्व छली गर्नेहरू भारतीय नागरिकहरू अभिषेक अजिनाथ कुटे, राहुल विट्टल वाड, राहुल गोरख दगडे, हन्मन्त विदुल मोरे तथा नेपाली नागरिकहरू काभ्रेका आयुष सापकोटा, रविन्द्र वाइबा तामाङ र पर्वतका विनोद पुनविरुद्ध उच्च अदालत पाटन, हेटौंडा इजलासमा गत १८ पुसमा मुद्दा दर्ता गरिएको हो। उनीहरूविरुद्ध बिगो र बिगो बराबरको जरिवाना गरी २४ करोड २५ लाख ८७ हजार ४ सय र हदैसम्मको कैद सजाय मागदाबी गर्दै मुद्दा दर्ता गरेको हो ।

यसै गरी विभागको पथलैया कार्यालयबाटै बिलबिजकबिना ४९१।१३ ग्राम सुन तस्करी गर्ने भारतीय नागरिक सुजित सर्राफ, सप्तरी बस्ने सोनीकुमारी शाहलगायतलाई बिगो र जरिवानासहित १ करोड ३४ लाख ८८ हजार र हदैसम्मको कैद सजायको मागदाबी गर्दै अर्को मुद्दा दायर गरिएको हो ।

यसै गरी राजस्व अनुसन्धान विभागले गत ३ मंसिरमा जनकपुर भन्सार कार्यालय जनकपुरअन्तर्गत लग्मा जटही छोटी भन्सार कार्यालयबाट असोज ६ गते जाँचपास भएका विभिन्न ट्रकहरूमा भएका कुर्तासुुरुवाललगायतका मालवस्तुमा राजस्व छली गर्ने ३४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । यसरी मुद्दा दायर भएकामा भन्सार अधिकृत १ जना र ३ जना नायब सुब्बासमेत रहेका छन्।

यसै गरी २५ जना पूर्व भारतीय सैनिकहरूविरुद्ध पनि मुद्दा दायर गरिएको र उनीहरूविरुद्ध बिगो र जरिवाना गरी १० करोड ७२ लाख ४ हजार ९ सय ३२ रुपियाँ मागदाबी र कैद सजायको माग गरिएको छ।

विभागका अनुसार सुन तथा सुनका गरगहना र चाँदी तथा चाँदीका गरगहनामा राजस्व छली गर्ने वीरगञ्जस्थित आरके एन्ड सन्सका प्रोपाइटर सन्दीप सर्राफलाई बिगो र जरिवाना गरी २५ करोड ३४ लाख र हैदसम्मको कैद माग गर्दै उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा मुद्दा दायर गरिएको हो।

विभागका महानिर्देशक घिमिरेले विभाग र मातहतका इटहरी, पथलैया, बुटवल र कोहलपुर कार्यालयले पनि राजस्व छलीविरुद्धको कारबाहीलाई प्रभावकारी किसिमले अघि बढाइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले विभागले सबै व्यापारीहरूसँग मैत्रीपूर्ण व्यवहार गरिरहेको र गल्ती नगर्ने कसैमाथि कुनै प्रकारको दुःख नदिने नीति अख्तियार गरेको छ।

विगतमा विभागका नाममा व्यापारीहरूले विभिन्नखाले दुःख, झन्झट र बार्गेनिङको समस्या व्यहोर्नुपरेका गुनासाहरू व्यापक आउने गरेका थिए । अहिले त्यस्ता गुनासाहरू आउन नदिन विभागका सबै कर्मचारीहरूलाई सतर्क पारिएको र विभागको नाममा कुनै प्रकारको दुःखकष्ट कसैले दिएमा तत्काल खबर गर्न समेत व्यापारिक क्षेत्रलाई आग्रह गरिएको महानिर्देशक घिमिरेको भनाइ छ ।

विभागले राजस्व चुहावट नियन्त्रण गर्न प्रवद्र्धनात्मक, निरोधात्मक र दण्डात्मक गरी ३ वटा रणनीति अख्तियार गरिरहेको महानिर्देशक घिमिरेले बताउनुभयो । महानिर्देशक घिमिरेले आफू विभागमा आएपछि मुुलुकले बाढीपहिरोको ठूलो समस्या व्यहोर्नुपरेको, दशैंतिहार र छठ पर्व पनि यसै समयमा परेको भए पनि त्यसका बाबजुद पनि राजस्व छली गर्नेविरुद्ध मुद्दा दायर गर्ने क्रमलाई तीव्रता दिइएको जानकारी दिनुभयो । समाचारपत्र

प्रतिक्रिया