स्वर्णलक्ष्मी ठगी प्रकरण : रविसहित ३९ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता
काठमाडौं,२२ पुस । कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउदेश्यीय सहकारी संस्था ठगीमा संलग्न रहेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसहित ३९ जनाविरुद्ध जिल्ला अदालत काठमाडांैमा मुद्दा दर्ता भएको छ।
उक्त सहकारी ठगी प्रकरणको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला सरकारी वकिलको कार्यालयमा आइतबार मुद्दा दर्ता गराएको छ। लामिछानेविरुद्ध विभिन्न जिल्लामा सहकारी ठगीको अभियोगमा अनुसन्धान भइरहेको छ। हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेमाथि पोखराको सूर्य दर्शन सहकारी प्रकरणमा पनि थुनछेक बहस भइरहेको छ।
जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ता गर्दा सहकारीको १ अर्ब १९ करोड ९५ लाख रुपियाँ अनियमितता गरेको आरोपमा गोर्खा मिडिया प्रा।लि।का तत्कालीन सञ्चालक समिति सदस्य लामिछानेसहित छविलाल जोशी, स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता तामाङ, सदस्य हेमन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दीपक लामाविरुद्ध मुद्दा दर्ता भएको छ।
पूर्वकोषाध्यक्ष सविना आले मगर, सदस्य भक्तबहादुर भोलन, सविता लामा, पूर्वसचिव प्रदीप लामा, लेखा संयोजक गणेशराज श्रेष्ठ, पूर्वलेखा समिति सदस्य सुनिता नेवा, पूर्वसदस्य शान्तिकुमारी सुवेदी, कर्जा उपसमिति सदस्य रोमन काफ्ले, कमल लामा, व्यवस्थापक नवीन अछामी, पूर्वअध्यक्ष कल्पना श्रेष्ठ, पूर्वसञ्चालक राजु बरालविरुद्ध मुद्दा दर्ता भएको प्रहरीले जानकार दिएको छ।
जीबी ग्रुप अफ कम्पनिजका सञ्चालक विशाल तामाङ, असरफ अली सिद्धिकी, नेचर नेस्ट प्रालिका सञ्चालक अनन्तबाबु राई, खिमानन्द कँडेल, बल्लभ नेपाल, निर्देशक गोकुल श्रेष्ठ, देव दीप एग्रिकल्पचर एन्ड एनिमल हस्वेन्ड्री फार्मका सञ्चालक भूपेन्द्र राई, भवती बालुवाखानी प्रालिका सञ्चालक मुखिया कान्छा गुरुङ पनि प्रतिवादी छन्।
गोर्खा हर्बल प्रोडक्सन प्रालिका सञ्चालक जनक भट्टराई, स्पिङ उड रियलस्टेट प्रालिका सञ्चालक भगवती बम्जन, न्यु सुलक्स अफसेट प्रिन्टर्सका सञ्चालक देवकुमार तामाङ, गोर्खा ग्रुप अफ कम्पनीका सञ्चालक शिवप्रसाद पौडेल, वीरबहादुर रानाभाट, सारेगामा रेकर्ड प्रालिका सञ्चालक किरण पुडासाईं, गोरखा ग्रुप अफ कम्पनीका सेयरधनी पुष्पराज पौडेल र सुपर सिटी इन्टरप्राइजेजका सेयर सदस्य कृष्णबहादुर पोखरेललाई समेत प्रतिवादी बनाइएको छ । समाचारपत्रबाट