९ आश्विन २०८३, शुक्रबार | September 25, 2026

पार्टीमा लामो योगदान, अन्तिम चुनावी प्रतिस्पर्धाको तयारीमा परमेश्वर भट्टराई


September 25, 2026
1.2k
Shares

तनहुँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा तनहुँ क्षेत्र नं. १ मा महाधिवेशन प्रतिनिधिका आकांक्षीहरू सक्रिय हुन थालेका छन्। यसैक्रममा लामो समयदेखि पार्टी संगठन र जनताको सेवामा क्रियाशील नेता परमेश्वर भट्टराईले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।

पार्टी संगठनका विभिन्न जिम्मेवारी सम्हाल्दै आएका भट्टराईले यसपटकको उम्मेदवारीलाई आफ्नो राजनीतिक जीवनको अन्तिम चुनावी प्रतिस्पर्धाका रूपमा प्रस्तुत गरेका छन्। उनले विगतमा पार्टी र संगठनमा गरेको योगदानको मूल्यांकन गर्दै आफूलाई विजयी गराउन क्षेत्रीय प्रतिनिधिहरूसँग अपिल गरेका छन्।

२२ वर्षको उमेरमै स्थानीय निर्वाचनबाट जनप्रतिनिधिका रूपमा निर्वाचित भएका भट्टराईको राजनीतिक यात्रा लामो र अनुभवपूर्ण छ। उनी २०४९ सालको स्थानीय निकाय निर्वाचनमा तत्कालीन केशवटार गाउँ विकास समितिको उपाध्यक्षमा निर्वाचित भएका थिए।

त्यसपछि २०५५ सालमा नेपाल तरुण दल तनहुँको जिल्ला सचिव बनेका भट्टराईले २०५६ सालमा तत्कालीन क्षेत्र नं। २ को क्षेत्रीय सहसचिवको जिम्मेवारी सम्हाले। २०५७ देखि २०६१ सम्म नेपाली कांग्रेस तनहुँको पार्टी कार्यालय सचिवका रूपमा काम गरेका उनी २०६१र६२ मा जिल्ला कार्यसमिति सदस्य बनेका थिए।

हाल उनी नेपाली कांग्रेस तनहुँको जिल्ला सहसचिवको जिम्मेवारीमा छन्। पार्टी संगठनसँगै स्थानीय तहमा पनि सक्रिय भट्टराई गत स्थानीय तह निर्वाचनमा बन्दीपुर गाउँपालिका–३ को वडाध्यक्षमा निर्वाचित भएका थिए।

‘पार्टी र संगठनमै जीवनको ऊर्जाशील समय बिताएँ’

आफ्नो उम्मेदवारीबारे स्पष्ट पार्दै भट्टराईले पार्टी र संगठनको हितमा जीवनको ऊर्जाशील समय समर्पण गरेको बताएका छन्। उनले यसपटक महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने निर्णय गरेको र त्यसपछि अन्य पदमा प्रतिस्पर्धा नगर्ने संकेत गरेका छन्।

‘मेरो जीवनको सम्पूर्ण ऊर्जाशील समय पार्टी र संगठनको हितमा समर्पित गरेँ। सायद यो अधिवेशनपछि मेरो कुनै पनि पदमा उम्मेदवारी हुने छैन। एकपटकका लागि महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने निर्णय गरेको छु,’ उनले भने।

आफ्नो विगतको योगदान र राजनीतिक यात्राको मूल्यांकन गर्दै क्षेत्रीय प्रतिनिधिहरूले आफूलाई विजयी गराउने विश्वास पनि उनले व्यक्त गरेका छन्।

योगदानको मूल्यांकनका लागि मत माग्दै

राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्शलाई आत्मसात् गर्दै राजनीतिक यात्रामा अघि बढेको बताउने भट्टराईले तनहुँ क्षेत्र नं। १ का क्षेत्रीय प्रतिनिधि तथा कांग्रेसप्रेमीहरूलाई आफ्नो उम्मेदवारीमा साथ दिन आग्रह गरेका छन्।

लामो समय पार्टी संगठनका विभिन्न तहमा काम गरेको अनुभव र स्थानीय तहमा जनप्रतिनिधिका रूपमा निर्वाह गरेको भूमिकालाई आधार बनाउँदै उनले महाधिवेशन प्रतिनिधिमा आफूलाई विजयी गराउन अपिल गरेका हुन्।

१५औँ महाधिवेशनको तयारीसँगै तनहुँ कांग्रेसमा प्रतिनिधि चयनको प्रतिस्पर्धा तीव्र बन्दै जाँदा भट्टराईको उम्मेदवारीलाई पनि क्षेत्र नं। १ को आन्तरिक चुनावी गतिविधिका रूपमा हेरिएको छ।

 

प्रतिक्रिया