२० पुस २०८१, शनिबार | January 4, 2025

निकुञ्जसम्बन्धी ऐनकानुन संशोधनको तयारीमा छौं : राज्यमन्त्री विक


January 1, 2025
498
Shares

काठमाडौं,१७ पुस । वन तथा वातावरण राज्यमन्त्री रुपा विकले वन्यजन्तुलगायत प्राकृतिक सम्पदाको संरक्षण र विकासको बिच सन्तुलन मिलाउन आवश्यक रहेको बताउनु भएको छ ।

पर्सा राष्ट्रिय निकुञ्जले मङ्गलबार हेटौँडामा आयोजना गरेको मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरणसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । “सरकार मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरणको प्रयासमा लागिरहेको छ ।”–उहाँले भन्नुभयो ।

निकुञ्जबाट प्राप्त हुने राजस्व न्यायोचित रुपमा वितरण हुनुपर्ने पनि उहाँको भनाइ थियो । केही दिन अघि मात्र मकवानपुरको मनहरी गाउँपालिका ५ मा बाघको आक्रमणबाट एक वृद्धाको ज्यान गएको थियो ।

नेपाली कांग्रेसको युवा नेता एंव केन्द्रीय सदस्य समेत रहेकी विकले अहिले भएको निकुञ्जसम्बन्धी ऐन र मध्यवर्ति क्षेत्र व्यवस्थापन नियमावली नागरिकमैत्री र संरक्षणमैत्री बन्न नसकेको पनि टिप्पणी गर्नुभयो । निकुञ्जसम्बन्धी ऐन कानुन संशोधनको तयारीमा सरकार लागेको पनि विकले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले निकुञ्जको अवस्थाका बारेमा जानकारी दिँदै वन्यजन्तु र मानवबिचको द्वन्द्व कम गर्ने गरी निकुञ्जसम्बन्धी ऐन कानुन निर्माण गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपनिर्देशक वेदकुमार ढकालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय प्रमुख ललित घलान, हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, मनहरी गाउँपालिकाका उपाध्यक्ष सीता पुलामी मगर, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, मकवानपुरका डिभिजनल वन अधिकृत राकेश चन्द्रवंशीलगायतले वन्यजन्तुको संरक्षणसँगै मध्यवर्ति क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि राष्ट्रिय निकुञ्ज÷मध्यवर्ति क्षेत्र व्यवस्थापनसम्बन्धी विधमान कानुनी प्रावधानहरुको समिक्षा एवम् सुधारका विषयमा सरोकारवालाहरुको सुझाव सङ्कलन गर्न आयोजित उक्त नीति संवाद कार्यक्रममा हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा वडाध्यक्ष, वन समूहका अध्यक्षलगायतका वक्ताहरुले निकुञ्ज ऐनमा संशोधनको माग गर्नुभएको थियो ।

प्रतिक्रिया