५ माघ २०८१, शनिबार | January 18, 2025

पर्दापछाडिका महानायकको अवसान


December 17, 2024
996
Shares

काठमाडौं,२ पुस । बहुदलीय व्यवस्थाको पुनस्र्थापनापश्चात काठमाडौंका पहिलो मेयर एवं पूर्वमन्त्री पीएल सिंहले हिजो १ पुस २०८१ का दिन बिहान सबेरै १ः३० को हाराहारीमा काठमाडौं चाक्सीबारीस्थित निवासबाट अनन्त यात्राका लागि महाप्रस्थान गर्नुभयो । ४ डिसेम्बर १९३६ अर्थात् १९ माघ १९९३ मा काठमाडौंको किसान परिवारमा जन्मनुभएका पीएल सिंहको पूरा नाम प्रेमलाल सिंह हो । तर, उहाँ पीएलकै नामबाट चिनिनुभयो । अधिकांश जनताका लागि उहाँ पीएल दाइ हुनुहुन्थ्यो । स्वर्गीय पीएल सिंहको गणेशमान सिंहसँग कुनै रक्त सम्बन्ध थिएन । तर, उहाँ गणेशमान सिंह परिवारको अभिन्न अंग हुनुहुन्थ्यो । स्वर्गीय गणेशमान सिंह एवं मंगलादेवी सिंहले पीएललाई जेठा छोरा नै मान्नुहुन्थ्यो । नेपाली समाजले उहाँलाई गणेशमान एवं मंगलादेवीका धर्मपुत्रका रूपमै मान्यता दिएको थियो । उपप्रधानमन्त्री प्रकाशमान सिंहले पनि हिजो सामाजिक सञ्जालमा उहाँलाई ‘हाम्रो परिवारका ज्येष्ठ सदस्य’ भनेर श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । पीएल सिंहको लगभग पूरा जीवन नै चाक्सीबारीमै बित्यो र उहाँको निधन पनि त्यही ऐतिहासिक घरमा भयो ।

पीएल सिंह जति चम्किनुपर्ने हो, त्यति नचम्किएका र जति उचाइमा पुग्नुपर्ने हो, त्यति नपुगेका नक्षत्र हुनुहुन्थ्यो । तर, उहाँको राजनीतिक सक्रियता र योगदान अतुलनीय एवं अद्वितीय थियो । व्यक्तिगत महत्वाकांक्षा नभएकै कारणले होला उहाँले व्यक्तित्व प्रदर्शन गर्नुभएन । वास्तवमै उहाँ पर्दापछाडिका महानायक हुनुहुन्थ्यो । पीएल सिंह नभएको भए गणेशमान सिंहको त्यो लौह व्यक्तित्व र उपलब्धि यस उचाइमा पुग्दैनथ्यो कि भनेर सोच्नुपर्ने हुन्छ ।

गणेशमान सिंह र मंगलादेवी सिंहको उहाँले जीवनभर अनवरत सेवा गर्नुभयो । १ पुस २०१७ मा राजा महेन्द्रले निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता आफ्नो हातमा लिँदा २४ वर्षीय पीएल सिंह विद्यार्थी नेताका रूपमा विदेश भ्रमणमा हुनुहुन्थ्यो । उहाँ स्वदेश फिर्नुभयो । गणेशमान सिंह दम्पती नै कारावासमा पुगेका थिए । शाही बक्रदृष्टिको त्रासले होला रक्त सम्बन्धीहरूले पनि मुख फर्काए । स्वाभाविक रूपमा गणेशमानका ससाना पाँच सन्तान बिचल्लीको अवस्थामा पुग्दा युवा पीएल सिंहले यी बालबालिका किशोर–किशोरीलाई सम्हाल्नुभयो । साँच्चै भन्ने हो भने गणेशमानको काठमाडौंस्थित घरपरिवारको सम्पूर्ण अभिभारा पीएलले बोक्नुभएको थियो ।

महानगरको मेयर पदबाट अवकाश पाएपछि २०५६ सालको आमनिर्वाचनमा उहाँले काठमाडौं क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका तर्फबाट टिकट पाउनुभयो । मेयरका रूपमा उल्लेखनीय काम गर्नुभए पनि उहाँलाई ‘फ्लाइङ मेयर’ भन्दै एमाले प्रचारतन्त्रले बदनाम गरेको थियो । यसअघिका निर्वाचनमा मंगलादेवी सिंह र प्रकाशमान सिंहले निर्वाचन हार्नुभएको थियो । काठमाडौं एमालेको बलियो गढ हो जस्तो भान भएको थियो । यस्तो अवस्थामा पीएल सिंहले निर्वाचन जित्ने सम्भावना न्यून देखिन्थ्यो । स्वयं यो पंक्तिकारले पीएल दाइसँग प्रश्न गरेको थियो, ‘तपाईं हार्ने हो कि १ जित्ने आधार के रु’ पीएल दाइको अनौठो जवाफ थियो, ‘मैले यस क्षेत्रका कम्तीमा १० हजार जनाको उधारो पचाएको छु, मेरो जित्ने आधार त्यही हो ।’ नभन्दै उहाँले निर्वाचन जित्नुभो १

उहाँका यी भनाइभित्र दुई महत्वपूर्ण तथ्य लुकेको छ । उहाँ आजीवन अविवाहित रहनुभयो । उहाँको आफ्नो परिवार त थिएन । तर, आफूले जिम्मा लिएको परिवार सम्हाल्न उहाँले के कस्तो दुःख गर्नुपरेको थियो भन्ने यसबाट बुझिन्छ । अर्को कुरो उहाँको जनसम्पर्क र लोकप्रियता कुन हदको थियो भन्ने पनि बुझिन्छ । मंगलादेवी सिंहको निधन भएलगत्तै एकपटक सामान्य कुराकानीका क्रममा उहाँले भन्नुभएको थियो, ‘म मेयर नबनेको भए मंगलादेवी अझै केही लामो समय बाँच्नुहुन्थ्यो, मैले त्यति ध्यान पु¥याउन सकिनँ ।’ गणेशमान सिंहको स्वास्थ्यलगायत अन्य निजी आवश्यकताको पनि पूरा ध्यान पीएल सिंहले नै गर्नुहुन्थ्यो । अत्यन्तै उल्लेखनीय पक्ष के छ भने पीएल सिंहको गणेशमान सिंह एवं मंगलादेवी सिंहप्रतिको यो पूर्ण वफादारिता कुनै व्यक्तिगत लोभ वा लालसाबाट प्रेरित थिएन । गणेशमान दम्पतीको प्रजातन्त्र र मानवाधिकारप्रतिको समर्पणप्रति पीएल सिंहको दृढ विश्वास र आस्था थियो । यस अर्थमा पीएल सिंह निष्काम कर्मयोगी हुनुहुन्थ्यो ।

पीएल सिंहको गणेशमान परिवारको सेवा पनि उच्च तहको राजनीतिक क्रियाकलाप थियो । यसबाहेक प्रत्यक्ष राजनीतिक क्रियाकलापमा पनि उहाँ अभूतपूर्व हुनुहुन्थ्यो । गणेशमान सिंहजस्तो हठी र हेर्दा सरल तर कठिन व्यक्तित्वलाई अन्य राजनीतिक व्यक्तित्व र समूहसँग संयोजन गर्ने जिम्मेवारी उहाँकै थियो । गणेशमानको मिडियासँगको र अन्तर्राष्ट्रिय सम्बन्धको संयोजनको कामको ठूलो हिस्सा पीएल सिंहले सम्हाल्नुहुन्थ्यो । पदमा रहँदा वा नरहँदा कुनै पनि अवस्थामा मिडियाको डार्लिङ रहनुभयो । अप्ठ्यारो परिस्थितिलाई व्यक्तिगत हँसीमजाकको अस्त्र प्रयोग गरेर सम्हाल्न उहाँ जान्नुहुन्थ्यो । उहाँको अन्तर्राष्ट्रिय सम्बन्ध पनि अभूतपूर्व थियो । भारतका लगभग सबै पूर्वप्रधानमन्त्रीहरूसँग उहाँको राम्रो सम्बन्ध थियो । चन्द्रशेखर र नरसिंह रावसँग त उहाँको अत्यन्तै मधुर सम्बन्ध थियो । नरसिंह रावले प्रधानमन्त्रीका रूपमा नेपाल भ्रमण गर्दा ‘म पीएलजस्तै बन्न चाहन्छु’ भनेर सार्वजनिक प्रशंसा गरेका थिए । अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको प्राइमरी निर्वाचनमा समेत समर्थकका रूपमा सहभागी हुनुभएको थियो । पीएल सिंहको अन्तर्राष्ट्रिय सम्बन्ध कौशलका कारण उहाँ मेयर हुँदा काठमाडौं महानगरले निकै लाभ पाएको थियो । काठमाडौं भन्दा थोरै उठ्ने कोसिस गरेको भए र थोरै मात्र व्यक्तिगत आकांक्षा राखेको भए पीएल सिंह राष्ट्रिय राजनीतिको केन्द्रबिन्दुमा हुन्थे भन्दा फरक नपर्ला ।

केही दिनअघि ४ डिसेम्बरका दिन मात्र आफ्नो ८८औं जन्मदिन मनाएका पीएल सिंहको पार्थिव शरीर हिजो मध्याह्नसम्म चाक्सिबारी निवासको प्रांगणमा राखिएको थियो । शरीरको ’चयगलम उपप्रधानमन्त्री प्रकाशमान सिंहलगायतका परिवारका सदस्यहरूका साथै प्रशंसकहरूको उपस्थिति देखिन्थ्यो । नेपाली कांग्रेसका नेताहरू अर्जुननरसिंह केसी, नरहरि आचार्य, मदनकृष्ण श्रेष्ठ र अन्य केही नेताहरू एवं ठूलो संख्यामा स्थानीय जनता एवं शुभेच्छुक प्रशंसक तथा पत्रकारहरूले सिंहप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन० एवं उपप्रमुख सुनिता डंगोल पनि चाक्सिबारी पुगेका थिए । काठमाडौं महानगर प्रहरीको एक जत्था व्यवस्था कायम गर्न खटिएका देखिन्थे । काठमाडौं महानगरपालिकाले हिजो आफ्ना कार्यालयहरू बन्द गरेको थियो ।

चाक्सिबारीबाट पीएल सिंहको पार्थिव शरीर नेपाली कांग्रेसको केन्द्रीय कार्यालय लगिएको थियो । श्रद्धाञ्जलीका लागि त्यहाँ राखिएको पार्थिव शरीरमा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झन्डा ओढाउनुभएको थियो । स्वर्गीय सिंहप्रति श्रद्धाञ्जली व्यक्त गर्न काठमाडौंमा उपलब्ध सबैजसो पदाधिकारी एवं केन्द्रीय सदस्यलगायत ठूलो संख्यामा पार्टी कार्यकर्ताहरूको उपस्थित थियो । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि सिंहलाई श्रद्धाञ्जली अर्पण गर्न कांग्रेस कार्यालय पुग्नुभएको थियो । कांग्रेसले आज आफ्ना सबै कार्यालय बन्द गर्ने, तीन दिन कांग्रेसको झन्डा आधा झुकाउने, पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने र १३औं दिनमा काठमाडौंमा शोक सभा गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालयको कार्यक्रमपश्चात स्वर्गीय सिंहको पार्थिव शरीरलाई काठमाडौं विष्णुमती किनारस्थित लखुतीर्थ श्मशान घाट पु¥याइएको थियो । साढे ४ बजेको आसपास पीएल सिंहको शरीरमा भाइ इन्द्रलाल सिंहले दागबत्ती दिएका थिए । सो अवसरमा प्रहरीको एक टुकडीले सलामी दिएको थियो भने स्थानीय ‘टुँछ्याँ बाजा’ पनि बजाइएको थियो । श्मशान भूमिमै पुगेर सिंहलाई श्रद्धाञ्जली दिनेमा नेपाली कांग्रेसका नेताहरू शेखर कोइराला, गोपालमान श्रेष्ठ र शंकर पाण्डे हुनुहुन्थ्यो । त्यस अवसरमा ठूलो संख्यामा पारिवारिक मित्र एवं स्थानीय जनताको उपस्थिति थियो । राजधानी दैनिकबाट

प्रतिक्रिया